पहिरोले पुरियो घर, भित्र थुनिएका ३ जनाको उद्धार
इलाम । ताप्लेजुङको सिदिङ्वामा पहिरोले घर पुरिएको छ । पहिरो खसेपछि घरभित्रै थुनिएका तीन जनाको उद्धार गरिएको छ । पहिरो खसेपछि सिदिङ्वा गाउँपालिका–३ आङखोपका ६१ वर्षीय हस्तबहादुर कटुवाल, उनकी श्रीमती ठगमाया कटुवाल र छोरी सम्झना भित्रै थुनिएका थिए ।
कुलोको पानी थुनिएपछि घरमाथिको कान्लो भत्किएर बुधबार बिहानको राति घर पुरिएको थियो । होहल्ला भएपछि गाउँले भेला भएर तीनैजनाको उद्धार गरेका हुन् । तीमध्ये ठगमाया घाइते भएकी छन् । अरुलाई पनि सामान्य चोट लागेको छ ।
गाउँकै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी घटनास्थल पुगेर घाइतेहरुको प्राथमिक उपचार गरेका छन् । पहिरोले घरभित्रको अन्न र अरु मालसामान पुरिएको स्थानीयले बताएका छन् ।
ताप्लेजुङका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार टाउकोमा चोट लागेकी ठगमायालाई उपचारका लागि सुविधासम्पन्न अस्पतालतिर पठाइएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।
