शिक्षाविद् पाठकलाई १ लाख राशिको आदिकवि भानुभक्त पुरस्कार

काठमाडौं । शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेका शिक्षाविद् प्राध्यापक शंकरराज पाठकलाई यस वर्षको आदिकवि भानुभक्त पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कारको राशि १ लाख २५ हजार रुपैयाँ छ ।

नेपाली शिक्षा परिषद् अध्यक्ष रमा शर्माको अध्यक्षतामा बसेको प्रबन्ध समितिको बैठकले पाठकलाई पुरस्कार दिने निर्णय गरेको हो । यो पुरस्कार २०५२ सालदेखि हरेक वर्ष प्रदान गरिँदै आएको छ ।

२०१६ सालमा काठमाडौंस्थित सरस्वती कलेजको प्राचार्यबाट शिक्षा क्षेत्रमा प्रवेश गरेका प्राध्यापक पाठकले नेपाल प्राध्यापक संघको संस्थापक सदस्य, महासविच, त्रिभुवन विश्वविद्यालयको उपकुलपति लगायत महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

आदिकवि भानुभक्त आचार्यको २१२ औँ जयन्तीको अवसरमा असार २९ गते पुरस्कार हस्तान्तरण गरिने परिषदले जनाएको छ । भानुजयन्तीका अवसरमा रानीपोखरीस्थित भानु माध्यमिक विद्यालय अगाडि रहेको भानुभक्तको शालिकमा माल्यार्पण गरी दिउँसो लेखनाथ साहित्य सदन, सोह्रखुट्टेमा आयोजना हुने कार्यक्रममा पुरस्कार प्रदान गरिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *