मोटरसाइकल जुध्दा बाबुछोरासहित ३ जनाको मृत्यु
सुनसरी । सुनसरीको रामधुनीमा शनिबार बेलुका भएको मोटरसाइकल दुर्घटनामा बाबुछोरासहित तीन जनाको मृत्यु भएको छ । अरु दुई जना सिकिस्त घाइते भएका छन् ।
प्रहरीका अनुसार कान्छी चोकबाट चतरा जाने सडकमा पर्ने रामधुनी नगरपालिका–७ बासबिटीमा दुर्घटना भएको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार कालाबञ्जारबाट कान्छी चोकतर्फ आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बर र विपरीत दिशाबाट आइरहेको को ३३ प ९६०५ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
प्रहरीका अनुसार दुर्घटनामा ५८६४ नम्बरको मोटरसाइकलका चालक रामधुनी–६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका छोरा ९ वर्षीय प्रनिष चौधरी र ९६०५ नम्बरको मोटरसाइकल चालक इनरुवा नगरपालिका–६ का ५० वर्षीय विन्दु यादवको मृत्यु भएको हो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको थियो । ५८६४ नम्बरको मोटरसाइकलको पछाडि बसेकी रामधुनी–६ की ३२ वर्षीय प्रतीक्षा चौधरी र अर्काे मोटरसाइकलको पछाडि बसेका इनरुवा–७ का ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका छन् । उनीहरुको बीपी प्रतिष्ठानमै उपचार भइरहेको छ ।
