असन्तुलित वर्षाले रोपाइँ प्रभावित
काठमाडौं । समयमै मनसुन सुरु भए पनि यस पटक धान रोपाइँ देशभर १७ दशमलव दुई प्रतिशत क्षेत्रमा मात्रै भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असार १३ गतेसम्म सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी अर्थात् ४० प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ ।
कर्णाली प्रदेशमा २३ दशमलव नौ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, धानको भण्डारको रूपमा परिचित मधेस प्रदेशमा भने सबैभन्दा कम अर्थात् आठ दशमलव दुई प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।
यसैगरी कोशी प्रदेशमा १३ दशमलव सात प्रतिशत, वाग्मतीमा १९ दशमलव छ प्रतिशत, लुम्बिनीमा १८ दशमलव पाँच प्रतिशत धान रोपाइँ भएको छ । त्यस्तै, गण्डकी प्रदेशमा १२ दशमलव चार प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ ।
मनसुन सुरु हुनासाथ केही दिन पूर्वी पहाडी क्षेत्रमा धेरै वर्षा भएको थियो । त्यसपछि करिब एक सातासम्म नस्क्रिय रहेको मनुसुन देशका मध्य र पश्चिमी क्षेत्रमा विस्तार भएको थियो । पछिल्ला दिन कोशी र मधेश प्रदेशमा निकै कम मात्र वर्षा भइरहेको छ । यसले गर्दा रोपाइँ प्रभावित बनेको हो ।
नेपालमा करिब १४ लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा धान खेती गरिन्छ । देशभरका ७७ जिल्लामध्ये ७५ जिल्लामा धान खेती हुने गरेको छ । कुल खेतीयोग्य जमिनको करिब ५० प्रतिशत क्षेत्रमा धान खेती गरिने तथ्याङ्क छ ।
