एसईई : कुन प्रदेशबाट कति विद्यार्थी उतीर्ण ?
काठमाडौं । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा बढी विद्यार्थी बागमती प्रदेशबाट उत्तीर्ण भएका छन् । बागमती प्रदेशबाट एक लाख १९ हजार ५१७ जना विद्यार्थी पास भएका हुन् ।
दोस्रोमा लुम्बिनी प्रदेश छ । लुम्बिनीबाट ९७ हजार ६८७ जना विद्यार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यस्तै, कोशी प्रदेशबाट ४७ हजार ८३५, मधेस प्रदेशबाट ५९ हजार ७४९, गण्डकी प्रदेशबाट ४७ हजार ८४९, कर्णाली प्रदेशबाट ४६ हजार ४५५ र सुदूरपश्चिम प्रदेशबाट ५९ हजार ८०४ विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।
समग्रमा ६१.८१ प्रतिशत परीक्षार्थी ‘ग्रेडेड’ भएका छन् । बोर्डले शुक्रबार साँझ प्रकाशित गरेको नतिजाअनुसार गत वर्षभन्दा यसपालि बढी विद्यार्थीले सफलता पाएका हुन् ।
बोर्डका अनुसार नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७ छन् । ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना छन् ।
यसैगरी, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना रहेको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । अवर्गीकृत परीक्षार्थीको संख्या १ लाख ६७ हजार ५९७ छ । २०८१ को एसईई ७ चैतदेखि सञ्चालन भएको थियो ।
परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए ।
बोर्डकाअनुसार एसईई नतिजाको विस्तृत विवरण एसएमएस, आईभीआर र वेबसाइट प्रयोग गर्न स्वीकृति दिइएकोले सो सर्ट कोड र वेबसाइटबाट हेर्न सकिने छ ।
नेपाल टेलिकमको एसएमएसरयूएसएसडी र आईभीआरका लागि १६०० मा मेसेज गरेर हेर्न सकिन्छ । त्यस्तै, जानकी टेक्नोलोजी प्रालीको एसएमएसमार्फत हेर्न ३५००१, आकाश टेक प्रालिबाट हेर्न ३४४५५, अल स्टार आईटी सोलुसन्स प्रालिको लागि ३४९४९ मा एसएमएस गरेर हेर्न सकिने जनाइएको छ ।
