यी हुन् विराटनगरका ‘नेपाली सलमान खान’

विराटनगर । नाम हो– बिक्रम उप्रेती । ३३ वर्ष । विराटनगर महानगरपालिका-३ ढाटपूर्व उनको घर छ । पूर्वाञ्चल विश्वविद्यालयमा जागिरे छन् । यतिमात्र भन्दा उनको सार्वजनिक परिचय खुल्दैन ।

सामाजिक सञ्जालमा सक्रिय हुनेहरुले बेग्लै रुपमा चिन्छन् उनलाई । जिउडाल, पहिरन, अभिनय र हिंडडुलको शैली भारतीय चर्चित अभिनेता सलमान खानसँग धेरै हदसम्म मिल्दोजुल्दो भएकाले उनले ‘नेपाली सलमान खान’ नाम पाएका छन् । आफैंले राखेको नाम होइन यो, उनका फ्यानहरुले राखिदिएका हुन् ।

बिक्रम उप्रेती कसरी बने त ‘नेपाली सलमान खान’ ?

यसको रमाइलो कथा छ ।

उनी सानैदेखि लोकप्रिय अभिनेता सलमान खानको फिल्म हेर्थे । आफूलाई पनि अलिअलि अभिनयको रहर थियो । गाउँमा हुने कार्यक्रमहरुमा नाचगान गर्थे । मनपर्ने कलाकार भएकाले उनमा सलमानको जस्तो हाउभाउ गर्ने बानी परिसकेको थियो ।

कतिपय साथीहरुले जिस्क्याउँथे पनि । ‘सलमान खान जस्तै छस्’ भनेर साथीहरुले भनिदिंदा उनी मख्ख पर्थे । अनि ऐनामा आफूलाई हेर्दा अलिअलि केही त सलमानसँग मिलेको जस्तो पनि लाग्थ्यो । त्यसपछि उनले सकेसम्म सलमानकै जस्तो कपाल, पहिरन अनि हिंडडुल जस्ता हाउभाउ बनाउन थाले ।

यो उनी १४-१५ वर्षको हुँदा ताकाको कुरा हो। पछि जागिर खान थाले । त्यसबीच कोरोना महामारी आयो । बाहिरफेर हलचल नगरी घरैमा बस्नुपर्ने भयो । घरमा बस्दा के गर्ने ?

त्यसबेला लोकप्रिय बनिरहेको सामाजिक सञ्जाल ‘टिकटक’ तिर उनी सोझिए । अलि समय अभ्यास गरेर उनले सलमान खानका गीतहरुमा अभिनय गरेर भिडियो पोस्ट गर्न थाले । त्यस्तो भिडियोमा उनले सलमान खानले लगाउने चस्मा, कपडा, हातको सिक्री जस्ता कुरा पनि लगाउने गरे । कहिलेकाहीँ मुस्लिम समुदायको पहिरन लगाएर पनि अभिनय गरे ।

गीतमा मात्र होइन उनले सलमानका चर्चित फिल्मका लोकप्रिय संवादहरुमा पनि अभिनय गर्दै भिडियो बनाएर टिकटकमा पोस्ट गर्न थाले । त्यसो गर्दा उनका भिडियो चर्चित भए । हजारौं, लाखौंले हेर्न थाले । त्यसै बेलादेखि हो उनलाई थुप्रैले ‘नेपाली सलमान खान’ भन्दै प्रतिक्रिया दिन थालेको ।

त्यसपछि उनी झनै हौसिए । एक त, महामारीको बेला फुर्सदैफुर्सद, अर्कातिर आफ्नो अभिनय धेरैले मन पराइरहेको अवस्था । अनि उनले पहिलेभन्दा अझ मेहनत गरेर भिडियोहरु बनाए । नियमित पोस्ट गर्न थाले ।

उनको टिकटक एकाउन्टमा सुरुमा नगन्य मात्र फलोअर थिए । बिस्तारै बढ्दै गए । अहिले उनका फलोअरको संख्या करिब १ लाख ४ हजार पुगेका छन् । उनले पोस्ट गरेका सामग्रीहरुमा लाखौंले लाइक गरेका छन् ।

उनले बनाएको एउटा भिडियो निकै चर्चित बन्यो । सलमान खानको फिल्मकै गीतमा बनाएको उक्त एउटै भिडियो ३० लाख २० हजारभन्दा बढीले हेरेका छन् । यसरी उनका फ्यानहरु पनि बढ्दै गएका हुन् । धेरैले उनको पोस्टमा ‘नेपाली सलमान खान’ भनेर प्रतिक्रिया दिने गरेका छन् ।

कतिपयले उनलाई फिल्ममा अभिनय गर्न सुझाव दिएका छन् । कतिपयले म्युजिक भिडियोमा अभिनय गर्ने प्रस्ताव समेत गरेका छन् । तर जागिरको व्यस्तताले गर्दा उनले त्यसो गर्न पाएका छैनन् ।

‘भरखरै मात्र पनि एउटा म्युजिक भिडियो र अर्को एउटा फिल्ममा अभिनय गर्ने भनेर प्रस्ताव आएको थियो’ उप्रेतीले भने, ‘रहर त हो तर आफू नियमित जागिरे मान्छे, समय नै निकाल्न सकिंदैन ।’

उनका श्रीमती र दुई सन्तान छन् । अभिभावक लोकप्रिय कलाकार जस्तो देखिने र अरु धेरैले त्यही भनेर उनलाई भेट्न आउने, फोटो खिचाउने, भिडियो बनाउने गर्दा परिवारलाई पनि खुसी लागेको छ । उनीहरुले त्यस्ता भिडियो बनाउन प्रोत्साहन र सहयोग गर्ने गरेको उप्रेती बताउँछन् । आफ्ना भिडियो उनले फेसबुक पेजमा पनि पनि राख्ने गरेका छन् ।

एकपटक कार्यालयकै कामको सिलसिलामा उनी धनकुटाको भेडेटार गएका थिए । त्यहाँ घुम्ने क्रममा उनका केही फ्यान रहेछन् । उनलाई देख्नेबित्तिकै घेरिहाले । अनि सँगै फोटो खिचाए । भिडियो बनाए । त्यसरी खिचेको फोटो र भिडियो उनीहरुले सामाजिक सञ्जालहरु फेसबुक र टिकटकमा राखे । त्यसले उनलाई अझ बढी चिनायो ।

‘त्यहाँ भेटिएका एकजनाले तपाईं त टिकटकमा आइरहने नेपालको सलमान खान होइन भनेर प्रश्न गरे’ उनले अनुभव सुनाए, ‘हो भन्नासाथ फोटो र भिडियो खिच्न भ्याइनभ्याइ भयो ।’ यसरी ठाउँठाउँमा जाँदा आफूलाई चिन्नेहरुले प्रशंसा गर्दा खुसी लाग्ने उनी बताउँछन् ।

उनका फ्यान नेपालैभरि छन् । विदेशमा पनि उल्लेख्य छन् । खासगरी भारत र पाकिस्तानमा उनका फ्यान बढी छन् । त्यता सलमान खानको क्रेज बढी भएर पनि हुन सक्छ, उनलाई मन पराउनेहरु धेरै छन् । विश्वका अरु थुप्रै देशमा रहेका बलिउडका सलमानका प्रशंसकहरुले पनि उनलाई फलो गरेका छन् ।

एकपटक जनकपुर गएका थिए उनी । निजगढ पनि पुगेका थिए । दुवै ठाउँमा उसैगरी फ्यानहरुसँग भेट भएको थियो । त्यहाँ पनि फोटो र भिडियो खिच्ने सिलसिला चलेको उप्रेतीले सुनाए ।

साँच्चैको सलमान खानलाई भेट्ने रहर छ कि छैन भन्ने प्रश्नमा उप्रेतीले भने, ‘त्यस्तो चर्चित कलाकार, करोडौं मरिहत्ते गर्छन्, उनलाई भेट्ने रहर कसो नहोला र ? कुनै दिन अवसर मिल्यो भने भेट गर्ने प्रयास अवश्य गर्नेछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *