बाल यौन दुराचार आरोपमा शिक्षक पक्राउ
सांकेतिक तस्बिर
काठमाडौं । आफ्नै विद्यालयमा अध्ययन गर्ने बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा गोरखाको एक आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएका ३४ वर्षीय विजयकुमार गिरीलाई प्रहरीले पक्राउ गरेको छ । उनी बाराको महागढीमाई नगरपालिका–१ का बासिन्दा हुन् ।
बालिकालाई यौन आशयले संवेदनशील अंगमा समात्ने, अस्वाभाविक यौनजन्य क्रियाकलाप गर्ने, विद्यालय जाने बाटो ढुकेर बसी यौनजन्य कार्य गर्ने दिने जस्ता काम गरेको आरोप गिरीमाथि लागेको छ ।
त्यस्ता कार्य गरेको भन्दै बालयौन दुरुपयोग गरेको प्रहरीमा जाहेरी परेको थियो । त्यही आधारमा सोमबार गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।
आरोपित गिरीविरुद्ध मंगलबार बालयौन दुरुपयोग शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
