११ महिनामा १ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको कुचो निर्यात

विराटनगर । ११ महिनाको अवधिमा नेपालबाट १ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको कुचो निर्यात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मको यो तथ्यांक गत वर्षको तुलनामा केही कम हो ।

आर्थिक वर्ष २०८०–८१ को सोही अवधिमा १ अर्ब २६ करोड १२ लाख रुपैयाँ बराबरको अम्रिसो कुचो निर्यात भएको तथ्यांक छ ।

भन्सार विभागका अनुसार यो वर्ष कुल १ अर्ब ९ करोड १३ लाख २४ हजार रुपैयाँको अम्रिसो कुचो निर्यात भएको छ । उक्त अवधिमा १ करोड ४२ लाख ९७ हजार किलो अम्रिसो भारत निर्यात भएको विभागले जनाएको छ ।

त्यसअघि आर्थिक वर्ष २०७९–८० मा १ अर्ब रुपैयाँको कुचो भारतमा निर्यात भएको थियो । यस्तै, २०८०–८१ मा १ अर्ब ३२ करोड ५२ लाख ५४ हजार रुपैयाँको कुचो निर्यात भएको थियो ।

आर्थिक वर्ष ०७७–७८ मा ६५ करोड ८८ लाख १३ हजार रुपैयाँ बराबरको कुचो भारत र बंगलादेश निर्यात भएको थियो । त्यस वर्ष ५६ लाख ३७ हजार रुपैयाँको २ लाख ३२ हजार ६ सय किलो कुचो बंगलादेश निर्यात भएको थियो भने ६५ करोड ३१ लाख ७६ हजार रुपैयाँ बराबरको कुचो भारत निर्यात भएको विभागको तथ्यांक छ ।

पूर्वी पहाडी जिल्लाहरु इलाम, ताप्लेजुङ, पाँचथर, धनकुटालगायत क्षेत्रमा अम्रिसो उत्पादन हुने गरेको छ । विस्तार हुँदै देशका अन्य जिल्लामा पनि यसको खेती हुने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *