अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इजरायल-इरान युद्ध अन्त्यको दाबी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम हुने दाबी गरेका छन् । आफूलाई यो घोषणा गर्दा खुसी लागेको पनि उनले उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मलाई यो घोषणा गर्दा खुसी महशुस भएको छ । इजरायल र इरानबीच एक पूर्ण युद्धविराम १२ घण्टामा । अर्थात् अबको ६ घण्टापछि लागू हुनेछ । पहिलो १२ घण्टाका लागि इरान तयार हुनेछ । र अर्काे १२ घण्टामा इजरायलले हतियार बिसाउनेछ ।’
उनले दुवै देशका नेताहरुलाई धन्यवाद दिँदै १२ दिनदेखि चलिरहेको युद्ध समाप्त पार्नका लागि सहयोग गरेको उल्लेख गरेका छ्न् । नरोकिए यो युद्ध कैयौं वर्षसम्म चल्न सक्ने भन्दै पहिले कहिल्यै नदेखिएको मृत्यु र ध्वंस हुन सक्ने उनले लेखेका छन् ।
‘प्रधानमन्त्री नेतान्याहु, इजरायल र इरानका नागरिकलाई बधाई, जो मध्यपूर्वमा शान्तिको चाहना राखिरहेका थिए । यो विश्वका लागि एक महान दिन हो,’ उनले भनेका छन् ।
न्यु एजेन्सी ‘रोयटर्स’ का अनुसार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले इरानलाई अमेरिकाको युद्धविरामको प्रस्ताव स्वीकार गर्नका लागि मनाएका हुन् । यो कुराकानी इरानी अधिकारीहरुसँग टेलिफोनमा भएको जनाइएको छ ।
यसैबीच, इजरायलका प्रवास मामिलामन्त्री अमीचाई चिकलीले इजरायल र इरानबीच युद्धविरामको पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै इजरायली सैनिक, पाइलट, गुप्तचर निकायका अधिकारी र अन्य मानिसहरुलाई धन्यवाद दिएका छन् ।
