संरक्षणकर्मीमाथि विराटनगरका मेयर कोइरालाद्वारा दुर्व्यवहार

विराटनगर । संरक्षणकर्मी अभियन्तालाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दुर्व्यवहार गरेका छन् । सन् २०१९ देखि सामुदायिक कुकुर संरक्षणको काममा सक्रिय रहँदै आएका दाजु बहिनीलाई उनले दुर्व्यवहार गरेका हुन् ।

कोइरालाले सोमबार आफ्नै कार्यकक्षमा संरक्षणकर्मी शाहिल र एलिना प्रसाईंलाई दुर्व्यवहार गरेपछि यसको आलोचना र विरोध भएको छ ।

कुकुर संरक्षणका लागि सञ्चालित सेल्टर चलाउन भइरहेको समस्या लिएर एलिना मेयरसमक्ष पुगेकी थिइन् । समस्या सुने पनि कोइरालाले केही सहयोग नगर्ने भनेर रुखो व्यवहार गरेका थिए ।

मेयर कोइरालाको त्यस्तो व्यवहार भोगेपछि सँगै रहेका एलिनाका दाजु शाहिलले त्यहाँबाट जाऔं भनेका थिए । त्यसपछि कोइरालाले कुटपिट उनलाई गर्न खोजेको एलिनाले बताइन् ।

‘दाइले यहाँबाट जाऔं भनेपछि मेयर कोइरालाले तँ सन्किन्छस् साला गधा प्रसाईँ भन्दै दोस्रो तलासम्म खेद्दै आउनु भयो’ एलिनाले भनिन्, ‘मेयरले यति धेरै अपमान गर्नुभयो । म जागिर लगाइदिनु भनेर गएको होइन, कुकुर संरक्षणको कामलाई हेल्प गर्दिनु भनेर गएको हो ।’

उनले आफ्नो फेसबुक पेजमा ‘लाइभ’ प्रस्तुत हुँदै घटनाबारे विस्तृत जानकारी गराएकी छन् । उनले भावुक हुँदै, पटकपटक रुँदै आफूले भोग्नुपरेको पीडा व्यक्त गरेकी छन् । आफूहरुले निकै मेहनतका साथ कुकुर संरक्षणको काम गरिरहेको र यसमा कतिपयले सहयोग समेत गरेको उनले बताएकी छन् । यसैका लागि महानगरपालिकाबाट सहयोग हुन्छ कि भन्ने अपेक्षासहित महानगरपालिका पुगेको जानकारी पनि उनले दिएकी छन् ।

चाहेको भए आफूले कुनै राम्रो जागिर खान सक्ने र अरु नै कुनै काम गर्न सक्ने भए पनि संरक्षणको काम रोजेको तर कुनै व्यक्तिगत फाइदाको लागि नभएको एलिनाले बताएकी छन् । आफूले कुनै व्यक्तिगत स्वार्थ नराखी काम गरेको उनले बताएकी छन् । सडकमा अलपत्र र बिजोग अवस्थामा रहेका अबोध जनावरको संरक्षणको काम निकै संघर्षपूर्ण रहेको उनको भनाइ छ ।

मेयर कोइराला र एलिनासँगको विवादमा प्रत्यक्षदर्शी रहेका एक व्यक्तिका अनुसार सहयोग गर्न नसक्ने बताएपछि शाहिल कोइरालासँग रिसाएर हिँडेका थिए । त्यसपछि मेयर कोइराला उनको पछिपछि लागेका थिए ।

एसिनाका दाजु साहिलले अन्याय गर्नु र अन्याय सहनु दुवै गलत हो भन्दै मेयर कोइरालासँग अबोध प्राणीहरूको लागि सहयोग माग्न जाँदा आफूलाई ज्यान मार्ने शैलीमा हातपात गर्ने प्रयास गरेको आरोप लगाएका छन् । ‘ए साला गधा प्रसाईँ रोक रोक भन्दै धम्क्याउदै पछ्याउनु भयो । यदि म र मेरो बहिनीलाई केही भएमा विराटनगरको मेयर नागेश कोइराला जिम्मेवार हुनेछन्।’

मेयर कोइरालाले भने आफूमाथि अपशब्द प्रयोग भएको बताएका छन् । उनले कसैलाई आफूले दुर्व्यवहार नगरेको समेत दाबी गरे । महानगरका एक कर्मचारीका अनुसार मेयरले कुनै पनि संस्थालाई सहयोग गर्ने अवस्था नरहेको बताएपछि साहिल जंगिएका थिए । त्यही क्रममा उनले बहिनीलाई ‘यहाँबाट जाऔं हिंड’ भन्दै मेयर कोइरालालाई अपशब्द प्रयोग गरेका थिए । त्यसपछि कोइराला पनि जंगिएका थिए ।

बहिनीले निजी खर्च र व्यक्तिको सहयोगमा सेल्टर सञ्चालन गर्दै आएका छन् । उनीहरुले यसअघि विराटनगर महानगरलाई पटकपटक कुकुरको सेल्टर हाउस निर्माणका लागि जग्गा उपलब्ध गराएर सहयोग गरिदिन अनुरोध गर्दै आएका थिए । तर महानगरले बेवास्ता गर्दै आएको थियो । सरकारी निकायबाट सहयोग नपाए पनि उनीहरुलाई सामाजिक सञ्जालमार्फत् मनकारीहरुले सहयोग गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *