तिमी, म र साँझ

क्षितिजको एक धर्काे किरण
बैँसचित्रमा पोखिएपछि
पोतिन्छन् वयका रङ्गहरू
लजाउँदै निहुरिन्छन् आँखाहरू
र, मिसिन्छन् नजरहरू आपसमा
बतासको मन्द स्पर्श र सङ्गीतसँगै
चियाबारीको एकान्तमा
तिमी, म र साँझको भेट हुँदा।

***

मैले तिम्रो छाया सुमसुम्याउँदा
तिम्रा आँखाहरूमा जून नाचिरहेका हुन्छन्
सगरमा घामले छाडी गएको
लालित्यका लप्काहरू सुस्तरी सुस्तरी
जूनको अँगालोमा बेरिन्छन्
अनि तिम्रो जूनसँग मेरा आँखाहरू
आकासभरि दौडिन थाल्छन्
बादलको अङ्गालो मारेर
तिमी, म र साँझको भेट हुँदा।

***

प्रेम रापिलो हुँदो रहेछ र शीतल पनि
भावना, अनुभूति र भोगाइमा
कहिले उचाइमा
कहिले गहिराइमा
कहिले फैलावटमा
उकाली र ओरालीहरूमा पनि
चारैतिर पर…परसम्म
जहाँ प्रेमका कथाहरू लेखिँदा रहेछन्
घाम–जूनका किरणहरूमा
गोधुलीका रङहरूमा
र, साँझमा गुँड फर्किदै गरेका
चराहरूको वेगमा
तिमी, म र साँझको भेट हुँदा।

***

साँझले जुटाउँदो रहेछ
साँझले छुटाउँदो पनि रहेछ
घाम–जून जस्तै
हाम्रो माया जस्तै
अनन्त आकासलाई साक्षी राखेर
म नियाल्दैछु त्यही एउटा साँझ
जहाँ म फलैँचामा अडेसिएर
नापिरहेको हुन्छु हाम्रो प्रेमको गहिराइ
र, लेखिरहेको हुन्छु मिलनको गीत
तिमी, म र साँझको भेट हुँदा।


प्रतिक्रिया

6 thoughts on “तिमी, म र साँझ

  1. भावनात्मक, कोमल र सौन्दर्यले भरिएको अभिव्यक्ति
    —क्षितिजको किरण, चियाबारी, घाम–जून, साँझ, बतास र आँखाहरूको नजर—
    प्रेमको एउटा विशेष पल, त्यसको न्यानोपन र पीडासँगैको सौन्दर्य
    शुरुवाती लाज र न्यानो नजरको मिलन
    रातको चमक, कल्पनाको उडान र अन्तरात्माको सामीप्यता
    जटिलता—रापिलो र शीतल दुबै पक्ष, त्यसको उतारचढाव
    मिलन र वियोगको साक्षी, प्रेमको गहिराइ नाप्ने समय
    एकदमै मन छुने, सजीव र गहिरो कविता।
    प्रेम, प्रकृति र भावनाको सुमधुर संगम हो।
    शब्दहरू सरल, तर भावनाहरू अत्यन्त गहिरा र जीवन्त
    यो सिर्जनाले प्रेमलाई महसुस गर्न होइन, बाँच्न सिकाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *