पार्टीको महाधिवेशन २०८३ मंसिरभित्र हुनुपर्छ : कोइराला
तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले पार्टीको महाधिवेशन निर्धारित मितिमा हुनुपर्ने बताए ।
उनले भने,“म पार्टीको महाधिवेशन निर्धारित मितिमा हुनुपर्छ भन्ने पक्षमा छु, नेपाली कांग्रेसको महाधिवेशन जति लम्बिँदै जान्छ, यसले पार्टीलाई फाइदा गर्दैन ।” कोइरालाले २०८४ को आमनिर्वाचन अगाडि महाधिवेशन हुनुपर्नेमा जोड दिए ।
स्थानीय, प्रदेश तह र सङ्घीय निर्वाचन समयमा हुने भएकाले त्यसतर्फ सोचेर अगाडि बढ्न नेता कोइरालाले आग्रह गरे । विगतमा नेपाली कांग्रेसको बलियो साङ्गठनिक जिल्लाका रूपमा तनहुँ रहे पनि अहिले त्यस्तो अवस्था नरहेकाले त्यसतर्फ सोच्न उहाँले सबै नेताकार्यकर्तालाई आग्रह गरे ।
तनहुँका नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि यस जिल्लाको परिस्थिति फेरिएकाले अब यहाँको नेतृत्वले नयाँ ढङ्गबाट अगाडि बढाउनुपर्ने आवश्यकता रहेको कोइरालाको भनाइ थियो ।
सदस्यता नवीकरणका सन्दर्भमा केही कमजोरी भएको भए वडास्तरमा पुगेर कार्यकर्तालाई सम्झाउनुपर्ने उल्लेख गरे । उनले भने,“जिल्लाका वरिष्ठ साथीहरू वडास्तरमा पुगेर कार्यकर्तालाई सम्झाएर सदस्यता नवीकरण गर्नेतर्फ लाग्नुपर्छ ।” (रासस)
