इरानका ३ आणविक क्षेत्रमा अमेरिकी आक्रमण
काठमाडौं। अमेरिकाले इरानका तीन आणविक साइटमा आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक साइटहरूमा सफल हवाई आक्रमण सम्पन्न गरेको बताएका हुन्।
इरानका फोर्डाे, नतान्ज र इस्फहानस्थित आणविक केन्द्रहरूमा बम आक्रमण गरिएको उनको भनाइ छ। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा ट्रम्पले लेखेका छन्, ‘हामीले इरानका तीन आणविक साइटहरूमा निकै सफल आक्रमण सम्पन्न गर्यौं। सबै विमानहरू अहिले इरानको आकाशबाट बाहिर निस्किएका छन्।’
उनले विश्वमै यस्तो गर्ने अमेरिकी बाहेक अरु सेना नभएको समेत दाबी गरेका छन्। ‘अब समय शान्तिका लागि’ ट्रम्पले लेखेका छन्।
उनका अनुसार फोर्डाे साइटमा पूर्ण क्षमताका बमहरू खसालिएको छ र सबै विमानहरू अमेरिका फर्किन थालेका छन्। यसअघि ट्रम्पले इरानमा युद्धमा सहभागी हुने नहुने दुई दिनभित्र निर्णयले लिने बताएका थिए ।
इजरायल र अमेरिकाबीच केही सातायता युद्ध जारी छ। दुवै देशले एकअर्कामा मिसायल आक्रमण गर्दै आएका छन्। यस क्रममा कतिपय मानिसको ज्यान गइसकेको छ। भौतिक संरचनाहरुमा क्षति पुगेको छ।
