‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार, २०२५’ को शीर्ष १० मा नेपालको कोपिला भ्याली स्कुल

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित कोपिला भ्याली स्कुल ‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार,२०२५’ को शीर्ष १० मा छनोट भएको छ । सो स्कुलले ‘टी फोर एजुकेसन’लाई उद्धृत गर्दै विश्वको दश शीर्ष विद्यालयभित्र कोपिला भ्याली छनोट भएको जनाएको छ ।

टी फोर एजुकेसनले विभिन्न विधामा विश्वका विद्यालयहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ । ‘वातावरणीय कार्य’ विधामा कोपिलाले उत्कृष्ट १० सूचीमा आफ्नो स्थान बनाएको हो ।

कोपिला भ्याली समाजका अध्यक्ष टोपबहादुर मल्लले विद्यालयस्तरबाट पर्यावरण संरक्षणमा नेपाल पहिलो पटक विश्वकै १० औँ उत्कृष्ट विद्यालयको सूचीमा परेको जानकारी दिए । उनले भने, ‘यो नेपालीका लागि गर्वको कुरा हो । अब उत्कृष्ट हुन सबैको सहयोग आवश्यक छ ।’

उक्त विधामा नेपालबाहेक चिली, कोलम्बिया, इथियोपिया, फ्रान्स, भारत, कोसोभो, पेरु, टर्की र युनाइटेड अरब इमिरेट्सका स्कुल पनि परेका छन्।

अध्यक्ष मल्लका अनुसार उत्कृष्ट १० मा पर्न सफल स्कुलले आगामी सन् २०२५ नोभेम्बर १५ देखि १६ तारिखसम्म यासिमा ब्रिटिस एकेडेमी, अबुधावी युएइमा हुने ‘विश्व स्कुल समिट’मा सहभागी हुन पाउने छ ।

सो स्कुलका ‘प्रिन्सिपल’ राजेनकुमार कार्कीका अनुसार उत्कृष्ट दश विद्यालयबिचको आपसी प्रतिस्पर्धाबाट प्रथम आउन भोटको आवश्यक पर्छ । मतदान सुरु भइसकेको छ । यसका लागि सम्पूर्ण नेपालीले जतिसक्दो कोपिला भ्यालीलाई मतदान गरी देशको सान, पहिचान र स्वाभिमानलाई विश्वमाझ चिनाउन सहयोग गर्न सरोकारवालालाई उनले आग्रह गरे ।

अबुधावीमा हुने शिखर सम्मेलनमा विजेता घोषणा गरिने जनाइएको छ । वातावरणीय कार्य, समुदाय सहकार्य, नवप्रवर्तन, चुनौती पार गर्ने क्षमता र स्वस्थ जीवनशैली विधामा उत्कृष्ट दश वटा देशका विद्यालय छनोट भइसकेका छन् भने ५० राष्ट्र समिटमा सहभागी हुने टि फोरले जनाएको छ । (रासस)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *