आगामी ४ दिन देशका कतिपय स्थानमा भारी वर्षा हुने

काठमाडौं। नेपालमा मनसुन थप सक्रिय भएको छ। भारतको केरलाबाट सुरु भएको मनसुनी प्रणालीमा बंगालको खाडीको वायु मिसिएपछि वर्षा हुन थालेको छ।

भारतको आसाम, मेघालय र नेपालका विभिन्न क्षेत्रका साथै चीनको तिब्बतसम्म यो पटक भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

जलवायु तथा विपदविद् डा. धर्मराज उप्रेतीका अनुसार विकसित मौसमी प्रणालीका कारण नेपालमा आगामी चार दिन मध्यमदेखि भारी वर्षाको सम्भावना छ।

यो अवधिमा कोशी प्रदेशका विभिन्न स्थान, सिन्धुपाल्चोक, गण्डकी र सुदूरपश्चिममा बढी जोखिम हुने उप्रेतीले बताए।

नेपालको जल तथा मौसम विज्ञान विभाग र भारत मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आगामी तीन–चार दिनमा सिन्धुपाल्चोक, गण्डकी, सुदूरपश्चिम र कोशी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ।

विभागका अनुसार आगामी सातासम्म मनसुन नेपालभर फैलने सक्ने देखिएको छ। भारी वर्षा, बाढी र पहिरोका कारण आगामी चार दिनसम्म राजमार्ग अवरुद्ध हुनसक्ने र जनजीवन प्रभावित हुने सम्भावना छ।

डा. उप्रेतीका अनुसार कतिपय क्षेत्रमा भारी वर्षा हुन सक्ने देखिएकाले सतर्कता अपनाउनुपर्ने अवस्था छ। खासगरी नदी–खोला तटीय क्षेत्र र आसपास क्षेत्रमा बढी सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *