चर्चा कमाउँदै ‘चिउरी पातैमा’
काठमाडौं। साँझमा बास बस्ने प्रचलन र त्यस क्रममा अंकुराएको मीठो प्रेम कहानीलाई झल्काउने गरी तयार गरिएको ‘चिउरी पातैमा’ गीतले अहिले चर्चा कमाइरहेको छ।
त्यसरी अंकुराएको प्रेमलाई गीत र त्यसपछि अभिनयमार्फत् प्रस्तुत गरिएको छ। गीतको म्युजिक भिडियो सार्वजनिक भएदेखि यसले चर्चा पाइरहेको छ।
लोक भाकामा तयार भएको यो गीतमा बास बस्न आउने अपरिचित व्यक्तिको घरबेटीकी छोरी प्रतिको आकर्षण र उनीहरु बीचको दोहोरी संवाद देखाइएको छ। त्यसपछि हुने प्रेम कहानीको सुरुवातलाई रोमाञ्चक ढंगले देखाइएको छ।
गायक लेख काफले र गायिका अप्सरा घिमिरेको स्वरमा रहेको गीत काफ्लेकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। १२ दिनअघि सार्वजनिक यो म्युजिक भिडियो अढाइ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन्।
मकवानपुरको रमणीय स्थलमा छायांकन गरिएको गीतको भिडियोमा लालना छिमरिया र गायक काफ्लेसहित अन्य कलाकारको अभियन देख्न सकिन्छ।
भिडियोमा बास बस्ने कथाबस्तुलाई निर्देशक मौसम हिमालीले कलात्मक शैलीमा प्रस्तुत गरेका छन्। यी सबै प्रसंगलाई नवराज उप्रेतीको भिडियोग्राफीले अझ कलात्मक बनाएको छ।
गीतमा शब्द गायक स्वयंको छ भने संगीत लेखु सहयात्रीको छ। भाका संकलन बिषम आचार्यको छ। मिक्सिङ तथा मास्टरिङको काम प्रिज्म स्टुडियोका श्याम श्वेत रसाइलीले गरेका छन्।
