श्रमदानबाट सडक सम्भार गर्दै स्थानीय
इलाम। पश्चिमी इलामका गन्तव्य जाने महत्वपूर्ण नेपालटार-मंगलबारे सडकलाई व्यवस्थित गर्न स्थानीय बासिन्दा लागिपरेका छन्। इलाम नगरपालिका–१ का जनप्रतिनिधि र स्थानीय बासिन्दा मिलेर सडकको सम्भार भइरहेको छ।
उक्त सडकको नेपालटार–झुत्रे खोला खण्डको करिब ४ किलोमिटर क्षेत्रमा नाला सफाइ र मर्मत गरिएको छ। पहिले कालोपत्रे रहेको उक्त सडक अचेल जीर्ण अवस्थामा छन्। वर्षाको पानीले अरु क्षति पुग्ने अवस्था छ।
सडकछेऊ रहेको नाला भरिएकाले पानीले सहज निकास पाउने अवस्था नभएपछि नाला सफाइ गरिएको हो। हरेक शनिबार सफाइ अभियान सञ्चालन भइरहेको छ।

गत शनिबार डेढ सयभन्दा बढी स्थानीय भेला भएर सफाइ गरेका थिए। यस्तै, हिजो शनिबार सयभन्दा बढीको सहभागितामा सफाइ गरिएको वडाध्यक्ष गायत्रीराम बस्नेतले बताए।
सफाइ अभियान आगामी साता पनि गरिने उनको भनाइ छ। यसैगरी, उक्त वडामा पर्ने टोल नम्बर ६ का बासिन्दाले नेपालटार-सुवेदी गाउँ खण्डमा पनि सफाइ गरिएको छ। यस्तै, टोल नम्बर ४ मा पर्ने पण्डित गाउँ र देवेन्द्र घाट क्षेत्रको सडकमा पनि सफाइ र मर्मत गरिएको अध्यक्ष बस्नेतले बताए।

सफाइका क्रममा जनप्रतिनिधि, युवा, समाजसेवी समेतको सहभागिता हुने गरेको छ। आफ्नो ठाउँको संरक्षण र विकासका लागि स्थानीय बासिन्दाको श्रमदान महत्वपूर्ण हुन्छ भन्ने उदाहरण यस क्षेत्रले प्रस्तुत गरेको श्रमदानमा सहभागी स्थानीय युवा, स्वास्थ्यकर्मी राजेन्द्र ढुङ्गेलको भनाइ छ।
नेपालटार बजार व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र राईले यस्ता अभियानले आफ्नो गाउँको विकास हुने उल्लेख गर्दै सबैको सहकार्य महत्वपूर्ण हुने बताए ।

