तीनकुने घटना : दुर्गा प्रसाईँसहित ७ जनालाई थुनामा पठाउने आदेश
काठमाडौं। तीनकुनेमा भएको घटनापछि अवान्छित गतिविधिमा गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईँसहित ७ जनालाई अदालतले थुनामा पठाउन बिहीबार अबेर राति आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएकामध्ये जम्मा ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो।
तिनमा घर आगजनी र समाचार संकलन गर्न गएका पत्रकार सुरेश रजकको हत्यामा संलग्न आरोपीहरूसहित छन्। काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले अन्य ३२ जनालाई चाहिँ धरौटीमा रिहा गर्ने आदेश भएको बताए। उनका अनुसार प्रसाईंलाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश भएको हो ।
अदालतले प्रसाई, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र जित हादुर श्रेष्ठ लाई थुनामा पठाउन आदेश गरेको छ।
पूर्वराजाको समर्थनमा २०८१ चैत १५ गते भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी हुँदा समाचार संकलन गर्न गएका पत्रकार रजकले ज्यान गुमाएका थिए।
प्रसाईँ र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा सहभागीहरूले आगजनीका गरेको कारण प्रेमबहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्ण रूपमा क्षति भएको थियो। सोही घरमा पत्रकार रजकको मृत्यु भएको थियो।
आगजनीमा रामेछापको सुनापति गाउँपालिका घर भएका सरोज गौतम र अछाम पञ्चदेवलका गोकर्ण शाही संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।
अदालतमा प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक बहस सुरु भएको थियो। बहस सकिएपछि यो फैसला भएको हो। तीनकुने घटनामा प्रतिवादीमध्ये पछिल्लो समय ३९ जना प्रतिवादी हिरासतमा थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो। सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध काठमाडौं मुद्दा दायर गरेको थियो। ४ जना नाबालक रहेकाले भक्तपुर पठाइएको थियो।
