युगदेखि युगसम्म : साढे तीन दशकको चलचित्र यात्रा

काठमाडौं। लोकप्रिय अभिनेता राजेश हमालबारे विस्तृत जानकारीसहित पुस्तक सार्वजनिक हुने भएको छ। उनको सिनेमा यात्रा र जीवनका विविध आयाम समेटेर पुस्तक सार्वजनिक हुने भएको हो।

‘फाइनप्रिन्ट’ प्रकाशक रहेको पुस्तक भदौ दोस्रो सातासम्म आउने जनाइएको छ। हमालको जन्मदिन अवसरमा सोमबार काठमाडौंमा पुस्तकको आवरण अनावरण गरिएको छ।

अभिनेता हमाल र फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले आवरण अनावरण गरेका हुन्। ‘युगदेखि युगसम्म’ (जीवन, सिनेमा र समाज) नाम दिइएको उक्त पुस्तक लेखक एवं पत्रकार यज्ञशसँगको सहकार्यमा तयार पारिएको हो।

त्यस अवसरमा भारीले बहुप्रतीक्षित एवं महत्वाकाङ्क्षी साहित्यिक घटनामध्ये एक, हमालको पुस्तक युगदेखि युगसम्म प्रकाशनको घोषणा गर्न पाउँदा आफूहरु हर्षित भएको बताए।

हमालको ३५ वर्ष लामो फिल्म करिअर, अहिलेसम्म सार्वजनिक नभएको उनको व्यक्तिगत जीवन, परिवार एवं समाज र अन्य विभिन्न विषय पुस्तकमा समेटिएको जनाइएको छ।

उनको पहिलो चलचित्र ‘युगदेखि युगसम्म’ हो। पहिलो चलचित्र नै नै निकै चर्चित बनेपछि उनले त्यसयता लगातार काम गर्दै आए। उनलाई नेपाली चलचित्र उद्योगमा व्यवसायिकता ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको श्रेय दिने गरिएको छ।

हालसम्म उनले करिब दुई सयवटा चलचित्रमा काम गरिसकेका छन्। ‘युगदेखि युगसम्म’, ‘कसम’, ‘बसन्ती’, ‘जीवनदाता’, ‘देउता’, ‘गोरेटो’, ‘द युगदेखि युगसम्म’, ‘ढुकढुकी’, ‘अर्जुन’, ‘अल्लारे’, ‘आफन्त’, ‘धर्मा’, ‘खान्दान’ लगायत उनले अभिनय गरेका चलचित्र हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *