दुर्घटनामा विराटनगरका लायन्सकर्मीको मृत्यु
विराटनगर। कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका-३ स्थित तिरुपति पेट्रोल पम्प अगाडि भएको दुर्घटनामा १ जनाको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार दूध फारमबाट कञ्चनबारीतर्फ आउँदै गरेको को ३४ प २४३४ नम्बरको मोटरसाइकल र कञ्चनबारीतर्फ नै आउँदै गरेको प्रदेश १–०२–०४४ प ९५७२ नम्बरको मोटरसाइकल ठोक्किएर आइतबार राति दुर्घटना भएको थियो।
दुर्घटनामा ९५७२ नम्बरको मोटरसाइकल चालक विराटनगर–५ का ४२ वर्षीय नवीन खनालको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका खनालको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा सोमबार दिउँसो मृत्यु भएको हो।
खनाल लाइन्स क्लब अफ विराटनगर गुराँसका सदस्य हुन्। उनले विराटनगरमा मुनलाइट फोटो स्टुडियो सञ्चालन गर्दै आएका थिए।
दुर्घटनामा अर्को मोटरसाइकलको पछाडि सवार भारत झारखण्ड घर भइ विराटनगर-६ रामपुरस्थित माइतीमा बस्दै आएकी २९ वर्षीया सपना दास घाइते भएकी थिइन्। उनको नोबेलमा उपचार भइरहेको छ।
२४३४ नम्बरको मोटरसाइकलका चालक भारतको झारखण्डका ३४ वर्षीय राकेश रन्जनलाललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ।
