वृद्धवृद्धाको स्वास्थ्य बुझ्दै उपचारमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी

इलाम। देउमाई नगरपालिकाको शान्तिडाँडास्थित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको पहलमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ।

देउमाई नगरपालिका वडा नम्बर ६ को आयोजनामा चार दिनसम्म स्वास्थ्य परीक्षण अभियान चलाइएको थियो। त्यस क्रममा सुगर, प्रेसर, पिसाबसम्बन्धी समस्याको परीक्षण गरिएको जनाइएको छ। त्यस अवसरमा ज्येष्ठ नागरिकहरुलाई औषधि र भिटामिन पनि वितरण गरिएको थियो।

देउमाई नगरपालिकाको वडा ६ का विभिन्न टोलमा कार्यक्रम आयोजना गरी स्वास्थ्य परीक्षण गरिएको थियो। घरबाट परपर जान नसक्ने अशक्तहरुको घरैमा गएर परीक्षण गरिएको थियो। वडाभरिमै सबैभन्दा जेठो मानिएकी ९८ वर्षीय लक्ष्मी बस्नेतको घरैमा पुगेर स्वास्थ परीक्षण गरिएको थियो।

वडाध्यक्ष सुरेन्द्रकुमार बस्नेतका अनुसार चार दिनसम्म गरी २६१ जना वृद्धवृद्धाको परीक्षण र उपचार गरिएको थियो। अशक्त वृद्धवृद्धाको घरमै पुगेर उपचार गरिएको वडाध्यक्ष बस्नेतले जानकारी दिए। यो अभियानका क्रममा वृद्धवृद्धाहरुमा के कस्तो स्वास्थ्य समस्या छ भन्ने पनि अध्ययन गरिएको थियो।

स्वास्थ्य जाँच अभियानमा स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वयंसेविकाहरु खटिएका थिए। शान्तिडाँडा स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र ढुंगेल र सिनियर अहेव नारायण राउतले वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गरेका थिए।

परीक्षण कार्यक्रम फुटुक चोक, सिंहदेवी आधारभूत विद्यालय, पुवामाई आधारभूत विद्यालय, वडा कार्यालयलगायत स्थानमा परीक्षण कार्यक्रम राखिएको थियो।

कार्यक्रममा वडा सदस्यहरू राजकुमार लिम्बु, केशरबहादुर घिमिरे, कृष्ण कुमारी श्रेष्ठ र कमला मङ्ग्रान्ती पनि अभियानमा सक्रियतासाथ खटिएका थिए।

यसैगरी, टीकादेवी दाहाल, रामकुमारी राई, जीना राई, पूजा सुवेदी, रमिला न्यौपाने दाहाल, मीना खनाल र यामकुमारी राउत, सुनिता राई, र दुर्गा थापालगायत स्वास्थ्य स्वयंसेविकाहरुको पनि सक्रिय सहभागिता थियो।

वृद्धवृद्धाहरुमा खासगरी हातखुट्टा दुख्ने, रिंगटा लाग्ने, शारीरिक रुपमा कमजोरी महसुस हुने, जोर्नी दुख्ने, ग्यास्ट्रिक र पिसाबमा समस्या, आँखाको समस्या पाइएको स्वास्थ्य चौकी प्रमुख ढुंगेलले बताए। यसैगरी, उच्च रक्तचाप र डाइबिटिजको समस्या पनि कतिपयमा देखिएको उनले जानकारी दिए।

सुगरका पुराना रोगी र लामो समयदेखि उच्च रक्तचापको समस्या खेपिरहेकाहरुको पनि परीक्षण गरिएको थियो। यस्तो अभियान आगामी वर्ष पनि गरिने जनाइएको छ। तत्काल उपचार गर्न सकिने समस्यामा औषधि दिइएको साथै खानपानमा अपनाउनुपर्ने सावधानी र ख्याल गर्नुपर्ने कुराहरुबारे सल्लाह दिइएको ढुंगेलले बताए।

कम लगानीमै पालिका र वडाहरुमा रहेका जनप्रतिनिधि अनि स्थानीय स्वास्थ्य संस्थाका प्रतिनिधि मिलेर गाउँवासीको सेवा गर्ने कामलाई उदाहरणीय एवं अनुशरणीय मानिएको छ। अरु पालिका र वडाहरुले पनि यस्तै अभियान सञ्चालन गरे स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुने छन्।


प्रतिक्रिया

One thought on “वृद्धवृद्धाको स्वास्थ्य बुझ्दै उपचारमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी

  1. देउमाई नगरपालिका वार्ड न ६ ले राम्रो कामको सुरुवात गरेकोमा धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *