एसईई नतिजा प्रकाशनमा ढिलाइ हुने संकेत

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता प्रकाशनमा ढिलाइ हुने भएको छ। उत्तरपुस्तिका जाँच गर्ने काम नै ढिलाइ भएकाले नतिजा प्रकाशन पनि ढिलो हुने संकेत देखिएको छ।

शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका जाँच प्रक्रिया नै समयमा सुरु हुन नसक्दा यसपालि निर्धारित समयमै नजिता आउनेमा शंका उत्पन्न भएको छ।

शिक्षा ऐन जारी गर्नुपर्ने लगायत माग अघि सार्दै शिक्षक र कर्मचारीले आन्दोलन गरेका थिए। उनीहरुले २९ दिन लामो काठमाडौं केन्द्रित प्रदर्शन गरेका थिए।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार त्यही आन्दोलनका कारण योवर्ष उत्तरपुस्तिका जाँचको काम महिनाभन्दा बढी ढिलो हुन पुगेको जनाएको छ। नजिता पनि एक महिना ढिलो आउने सम्भावना रहेको जनाइएको छ।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का नियन्त्रक गणेशप्रसाद भट्टराईले उत्तरपुस्तिका जाँच्ने काम ३४ दिन ढिलो भएको छ। जाँच भइसकेर आएपछि करिब ३५ दिन समय थप कामका लागि लाग्ने उनले बताए।

केही केन्द्रहरुबाट नतिजाको तथ्यांक आउन थालेको उल्लेख गर्दै भट्टराईले कार्यालयमा सबै केन्द्रबाट नतिजा प्राप्त भएको ३६औँ दिनमा नतिजा सार्वजनिक गर्न सकिने बताए। एउटा प्रदेशमा भएको परीक्षाको उत्तरपुस्तिका अर्कै प्रदेशमा जाँच गर्ने व्यवस्था छ।

विगतमा शैक्षिक सत्र सकिएको एक महिनासम्म शिक्षकले दैनिक सात घण्टाका दरले उत्तरपुस्तिका जाँच गर्ने गरेका थिए। यो वर्ष शैक्षिक सत्र सुरु भएपछि मात्रै जाँच थालिएको बोर्डले जनाएको छ।

यसैबीच, नेपाल शिक्षक महासंघले एसईईको नतिजामा ढिलाई नहुनेगरी काम गरिरहेको दाबी गरेको छ। विगतमा जस्तै निर्धारित समयमा नतिजा निकाल्नेगरी उत्तरपुस्तिका जाँच गर्न शिक्षकहरुलाई निर्देशन दिइएको महासंघका केन्द्रीय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको भनाइ छ।

गत वर्ष २०८० चैत पहिलो सातादेखि सञ्चालन भएको एसईईको नतिजा असार १४ गते प्रकाशन भएको थियो।

वर्ष २०८१ को एसईईमा नियमितर्फ ४ लाख २१ हजार ५८५, ग्रेडवद्धितर्फ ७५ हजार ५३९ र प्राविधिक धारका १६ हजार गरी कुल पाँचलाख १५ हजार ७१ विद्यार्थी सहभागी भएका थिए । गत चैत ७ देखि १९ गतेसम्म एसईई सञ्चालन भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *