विश्वकप लिग : नेपालले नेदरल्यान्ड्सलाई हरायो
काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ। स्कटल्यान्डको डुन्डीमा बुधबार राति भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको हो।
नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो। नेपालका आरिफ शेखले सर्वाधिक ७८ रन बनाए। हिजोको
खेलमा अर्धसतक बनाएका उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए। दीपेन्द्र सिंह ऐरीले ३८ रन जोडे। नेदरल्यान्ड्सका माइकल लेभिटले २ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले २ सय २५ रन बनाएको थियो। स्कटल्यान्ड नोहा कोर्सले ४८ रन बनाए।
नेपालका लागि सोमपाल कामीले ३ तथा करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान २ विकेट लिए। यसअघि अस्तिको खेलमा नेपालले स्कटल्यान्डलाई १ विकेटले हराएको थियो।
नेपाल १४ खेलमा १० अङ्कका साथ लिगको सातौं स्थानमा छ। नेदरल्यान्ड्स २१ खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा कायम छ। स्कटल्यान्ड १७ खेलमा २० अङ्कका साथ चौथो स्थानमा छ।
नेपालले अर्काे खेल जेठ २५ गते स्कटल्याण्ड र २७ गते फेरि नेदरल्यान्ड्ससँग खेल्नेछ। ८ टोली सहभागी विश्वकप लिग–२ ओडीआई विश्वकप २०२७ को छनोट सिरिज हो।
लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सीधै स्थान बनाउने छ। पुछारमा रहने ४ टोलीले विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ।
