ओली भन्छन्, ‘पारिवारिक टेन्सनमा हुनेहरू फेसबुकमा गाली गर्छन्’
काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पारिवारिक स्थिति तनावपूर्ण हुनेहरूले सामाजिक सञ्जालमा मुख छाड्ने गरेको बताएका छन्।
काठमाडौंमा ‘आइडिया स्टुडियो’ ले बुधबार आयोजना गरेको ‘युवासँग प्रधानमन्त्री’ अन्तरक्रियामा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्। ओलीले युवाहरूलाई तनावमुक्त भएर बस्न पनि सुझाव दिए।
युवाहरु परिवर्तनको लागि लाग्नुपर्नेमा जोड दिंदै उनले भने, ‘चित्त बुझाएर बस्नु हुँदैन तर चित्त नबुझाउने भनेको अरूलाई गाली गर्ने, केही नगर्ने, नकारात्मक ढंगले मात्रै चल्ने, त्यसले कसैलाई राम्रो गर्दैन।’
पारिवारिक तनावमा हुनेहरुले फेसबुकमा गाली गर्ने गरेको ओलीले बताए। ‘यो फेसबुक–सेसबुकमा मुख छाडेर हिँड्नेहरूको पारिवारिक स्थिति तपाईँहरूले उनीहरूको परिवारभित्र के छ भनेर हेर्नुभयो भने टेन्सन हुन्छ।’
उनका अनुसार सामाजिक सञ्जालमा मुख छाड्नु कतिपयको आदत हुने भन्दै उनले भने, ‘किनभने त्यो आदत हो। त्यस बानीले गर्दाखेरी ऊ आफैं तनावमा हुन्छ।’
गाली गरेर हिंड्ने अभ्यासले व्यक्ति, परिवार र समाज कसैलाई पनि राम्रो नगर्ने ओलीको तर्क छ। उनले भने, ‘असन्तुष्ट हुँदा अरूलाई मुख छाडेर हिँड्ने, गाली गरेर हिँड्ने, काम केही नगर्ने, नकारात्मक ढंगले मात्रै चल्ने, त्यसले आफूलाई पनि राम्रो गर्दैन, आफ्नो स्वास्थ्य पनि राम्रो गर्दैन, पारिवारिक स्वास्थ्य पनि राम्रो गर्दैन, सामाजिक स्वास्थ्य पनि राम्रो गर्दैन।’
