विश्वकप क्रिकेट लिगः नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज बुधबार नेदरल्यान्ड्ससँग खेल्दैछ। खेल स्कटल्याण्डको डुन्डेमा दिउँसो ३ः४५ बजे शुरू हुनेछ।
लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय एकदिवसीय शृङ्खला भइरहेको हो। यो शृङ्खलाको अस्ति भएको खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई एक विकेटले हराएको थियो।
जीतसँगै ८ टोली सहभागी लिग–२ मा नेपाल १३ खेलमा ८ अङ्कका साथ तालिकाको सातौं स्थानमा छ। नेदरल्यान्ड्स २० खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा छ।
नेपालले आउँदो आइतवार स्कटल्याण्डसँग र मङ्गलवार नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ। लिग–२ को खेलपछि असार १ मा नेपाल, स्कटल्याण्ड र नेदरल्यान्ड्सबीच त्रिदेशीय टी–२० शृङ्खला शुरू हुनेछ।
आईसीसी विश्वकप लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सीधै स्थान बनाउने छ। पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ।
