कोशीका अधिकांश भूभागमा मनसुन विस्तार
काठमाडौं। कोशी प्रदेशको अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ।
देशभर आंशिक बदली छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मनसुन कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको छ।
आज बुधबार दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागको एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश र मधेस प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना छ।
