नेपालले स्कटल्याण्डलाई हरायो
काठमाडौं। आईसीसी विश्वकप लिग टु अन्तर्गतको चौथो चरणको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई हराएको छ। स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोलीमाथि नेपालले १ विकेटको रोमाञ्चक जीत हात पारेको हो।
२ सय ९७ रनको लक्ष्य नेपालले १ बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गर्यो। अन्तिम बलमा नेपालको जीतका लागि १ रन आवश्यक थियो। करण केसीले सिङ्गल लिन कुद्दा विकेटकिपरले रिजनलाई रनआउट गरे पनि अम्पायरले वाइड दिएपछि खेल नेपालले जितेको हो।
नेपालको जीतमा करण केसीले ४१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ६५ रन जोडे। कुशलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोडे। कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रनको योगफल तयार गर्यो। स्कटल्याण्डका लागि चार्ली टियरले सर्वाधिक ८० रन जोडे। त्यस्तै करण, सोमपाल र रिजनले २–२ विकेट लिए। सन्दीप लामिछानेको नाममा १ विकेट रह्यो।
जीतसँगै ८ टोली सहभागी लिग टु मा नेपाल १३ खेलमा ८ अंकका साथ सातौं स्थानमा छ। पराजित स्कटल्याण्ड १७ खेलमा २० अंकका साथ चौथो स्थानमा छ।
विश्वकप लिग टु ओडीआई विश्वकप २०२७ को छनोट सिरिज हो। लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सीधै स्थान बनाउने छ। पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ।
