बाढीले बगायो कालोपत्रे सडक : आउजाउ ठप्प
धनकुटा। बाढीले सडक बगाएपछि कोशी लोकमार्ग अवरुद्ध भएको छ। आज शनिबार बिहान करिब साढे ५ बजे लेउती खोलामा आएको बाढीले सडक बगाएको हो।
सडक बगेपछि उक्त मार्ग भएर आउजाउ ठप्प भएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठका अनुसार कोशी लोकमार्गको धनकुटा साँगुरीगढी गाउँपालिका–६ फेदी भन्ने स्थानमा लेउती खोलाले करिब सय मिटर कालोपत्रे सडक बगाएको छ।
यसैगरी, कोशी लोकमार्गको धनकुटा सांगुरिगढी–६ नमस्ते झरना छेउ खण्डमा रुख लडेर सडक अवरुद्ध भएको थियो। रुख हटाएर सडक भने खुलाइएको प्रहरीले जनाएको छ।
वर्षाकै कारण तमोर करिडोको सडक पनि अवरुद्ध भएको छ। छरुवा खोलमा आएको बाढीका कारण धनकुटाको चौबिसे गाउँपालिका–४ खण्ड अवरुद्ध भएको हो।
मनसुन नेपाल भित्रिएपछि कोशी प्रदेशमा सक्रिय भएको छ। विभिन्न जिल्लामा मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मनसुनी प्रणाली कोशीबाट पश्चिमतिर देशका अन्य भागमा सर्दै जाने क्रममा रहेको विभागले जनाएको छ।
