पूर्वबाट नेपाल छिर्यो मनसुन
विराटनगर। यो वर्षको मनसुन बिहीबार राति नेपाल प्रवेश गरेको छ। पूर्वबाट प्रवेश गरेको मनसुन कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष औसतभन्दा १५ दिन अघि नै मनसुन नेपाल प्रवेश गरेको हो। नेपालका अन्य भूभागहरुमा मनसुनको प्रभाव विस्तार हुन अझै केही दिन लाग्ने जनाइएको छ।
जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुन अवधि मानिन्छ। सामान्यतया नेपालमा जुन १३ देखि मनसुन सुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ।
यो अवधिमा नेपालमा वर्षभर हुने वर्षाको ८० प्रतिशतसम्म वर्षा हुन्छ। यो बेला बाढी, पहिरो, डुबान र कटानले जनधनको क्षति हुने गरेको छ।
मनसुन प्रवेश भएसँगै कतिपय स्थानमा हल्कादेखि मध्यम मनसुनी वर्षा सुरु भएको विमागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले मौसमी अवस्थाको निरन्तर अनुगमन गरिरहेको जनाइएको छ।
जलवायु तथा विपतविद् धरमराज उप्रेतीका अनुसार औसतभन्दा दुई साता अघि नै भित्रिएको यसपालिको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना छ।
खासगरी पश्चिमी क्षेत्रमा बढी वर्षा हुन सक्ने अनुमान रहेको उनले सरल पत्रिकालाई जानकारी दिए। ‘बेलैमा सावधानीका कामहरु गर्नुपर्ने अवस्था छ’ उनले भने, ‘विपत आइसकेपछि होइन अगाडि नै तयारी गर्दा कम क्षति हुनेछ।’
१९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने
यो वर्ष मनसुनमा सरदरभन्दा बढी पानी पर्ने र क्षति पुग्ने पूर्वानुमान गरिएअनुसार पूर्वतयारीका लागि कार्ययोजना पारित भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार यो वर्ष मनसुन्जन्य विपद्बाट देशैभरि करिब ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आकलन गरिएको छ।
त्यसअनुसार कुल जनसंख्याको आधाभन्दा बढी अर्थात् १० लाख २९ हजार जना (५२ प्रतिशत) महिला प्रभावित हुने आकलन गरिएको छ। प्रभावित हुने पुरुषको जनसंख्या ९ लाख ६९ हजार जना हुनेछ।
प्राधिकरणले दुई दिनअघि सार्वजनिक गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाअनुसार यस वर्षको मनसुनबाट सबैभन्दा बढी लुम्बिनी प्रदेशवासी प्रभावित हुनेछन्।
लुम्बिनीका १ लाख १९ हजार ८३० घरधुरीका ५ लाख २३ हजार ६५६ जनसंख्या र सबैभन्दा कम कर्णाली प्रदेशका २९ हजार १३२ घरधुरीका १ लाख २७ हजार ३०८ जनसंख्या प्रभावित हुनेछन्।
बागमतीका ७४ हजार ९१४ घरधुरीका ३ लाख २७ हजार ३७६ जनसंख्या, गण्डकीका ६५ हजार ६९९ घरधुरीका २ लाख ८७ हजार १०७ जनसंख्या प्रभावित हुनेछ।
यस्तै, कोशीका ६३ हजार १२७ घरधुरीका २ लाख ७५ हजार ८६७ जनसंख्या, मधेशका ५२ हजार ३३१ घरधुरीका २ लाख २८ हजार ६८७ जनसंख्या, सुदूरपश्चिमका ५२ हजार ११२ घरधुरीका २ लाख २७ हजार ७३० जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ।
