बजेटमा कोशी : झापा बढी प्राथमिकतामा

विराटनगर। आर्थिक वर्ष २०८२–८३ को बजेटमा कोशी प्रदेशको झापा जिल्ला सर्वाधिक प्राथमिकतामा परेको छ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापालाई बजेटले प्राथमिकता दिएको हो।

अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेटले पूर्वाधार, पर्यटन, खेलकुदलगायत क्षेत्रमा कोशी प्रदेशलाई सम्बोधन गरेको छ। बजेटले विराटनगरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला रंगशालालाई पनि सम्बोधन गरेको छ।

झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक रङ्गशाला बनाउने विषय बजेटमा समेटिएको छ। सोलुखुम्बुमा ‘हाई अल्टिच्युड स्पोर्टस स्टेडियम’ निर्माण गर्ने योजना बजेटमा छ।

सीमावर्ती रानी क्षेत्रबाट विराटनगर–इटहरी हुँदै संखुवासभाको किमाथांका जोड्ने व्यापारिक मार्गलाई पनि बजेटले समेटेको छ। पूर्वपश्चिम राजमार्ग विस्तारअन्तर्गत काँकडभिट्टा–लौकही सडक चार लेन स्तरोन्नति गर्न बजेट विनियोजन भएको छ।

पूर्वपश्चिम रेलमार्गका लागि काँकडभिट्टा–इनरुवा खण्डमा रोक्का राखिएको जग्गा फुकुवा भएको छ। रेलमार्ग निर्माणका लागि पाँच वर्षअघि यो क्षेत्रको जग्गा रोक्का राखिएको थियो।

कोशी कोरिडोर विस्तार, अरुण कोरिडोरअन्तर्गत चतरा–लेगुवा सडक निर्माण, तमोर कोरिडोर र मेची राजमार्ग बजेटमा परेको छ। धरान–लेउती सुरुङ मार्ग पनि प्राथमिकतामा परेको छ भने झापाको बाहुनडाँगीदेखि डडेल्धुरा जोड्ने पुष्पलाल मार्गले पनि बजेटमा स्थान पाएको छ।

झापाको भद्रपुर र ताप्लेजुङको सुकेटार विमानस्थलको क्षमता विस्तार गर्ने विषयले पनि बजेटमा स्थान पाएको छ।  विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने चर्चा भए पनि बजेटले सम्बोधन गरेन। तेह्रथुमको चुहानडाँडा र उदयपुरको सगरमाथा विमानस्थलका सम्भाव्यता अध्ययन गर्ने योजना पनि बजेटमा छ। यस्तै, कोशी टप्पुदेखि सगरमाथा र केचना–पाथीभरासम्म पदमार्गले पनि बजेटमा प्राथमिकता पाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *