पानी शुद्ध बनाउने प्रविधि स्थापना गरिँदै

विराटनगर। उपभोक्ताका लागि शुद्ध खानेपानी उपलब्ध गराउन विराटनगर महानगरपालिकामा प्राविधिक पूर्वाधार व्यवस्थित गरिने भएको छ। यसका लागि विराटनगर–६ मा खानेपानी शुद्ध बनाउने ‘फिल्टर ट्रिटमेन्ट प्लान्ट’ राखिने भएको छ।

नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोषकुमार रौनियारका अनुसार प्लान्ट स्थापनापछि विराटनगर–६ सरौंचिया क्षेत्रमा खानेपानीको गुणस्तर सुधार हुनेछ। उक्त क्षेत्रको पानीमा ठूलो मात्रामा आर्सेनिक पाइएको छ।

धमिलो पानी आउने, लेदो आउने जस्ता समस्या पनि रहेका उक्त क्षेत्रमा खानेपानीका करिब ७ सय घरधुरी उपभोक्ता छन्।

प्लान्ट स्थापना गर्नका लागि विराटनगर महानगरपालिका बोर्ड बैठकले जग्गा उपलब्ध गराएको छ। संस्थानका अनुसार उक्त प्रविधिले २० लिटर प्रतिसेकेण्डको तीव्रतामा खानेपानी शुद्ध हुनेछ।

गत वर्ष असोज २२ गते महानगरपालिका कार्यपालिकाको बैठकले उक्त प्लान्ट स्थापनाका लागि संस्थानलाई सहमति दिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *