सगरमाथामा पहिलोपटक मानव पाइला पुगेको दिन

विराटनगर। सर्वोच्च शिखर सगरमाथामा आजकै दिन पहिलो पटक मानव पाइला पुगेको थियो। सन् १९५३ मे २९ मा नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीउक्त दिन सगरमाथा चुचुरोमा पुगेका थिए।

पहिलो सगरमाथा आरोहणको ७२औँ वर्ष पुग्दा हजारौं आरोहीले सफल आरोहण गरिसकेका छन्। पहिलो आरोहण दिनको सम्झना गर्दै आज बिहीबार अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ।

यो दिवस मनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा अन्तरराष्ट्रिय सगरमाथा दिवस मूल समारोह समिति गठन गरिएको छ। यस अवसरमा बिहान प्रभातफेरी गरिंदैछ। दिउँसो ‘सगरमाथा समिटर्स समिट’ को आयोजना हुँदैछ।

त्यस अवसरमा कीर्तिमानी आरोहीका अनुभव आदान–प्रदानका साथै साहसिक पर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनले हिमालमा पारेको प्रभाव न्यूनीकरणबारे बहस हुने जनाइएको छ। कीर्तिमानी आरोहीलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको सरकारले जनाएको छ।

एक तथ्याङ्कअनुसार नेपालमा ५ हजार ८०० मिटर माथिका १ हजार ७९२ हिमाल छन्। ८ हजार मिटरभन्दा माथिका ८ वटा हिमाल पनि नेपालमै छन्। यी सबैमध्ये ४६१ मात्रै आरोहणका लागि खुला गरिएका छन्।

८ हजार ८४८.८६ मिटर उचाइको शिखर आरोहण गर्न संसारभरबाट आरोही आउने गरेका छन्। सन् २०२० डिसेम्बर ८ अघि यसको उचाई ८ हजार ८४८ मिटर मानिएको थियो ।

सगरमाथाको सफल आरोहणपछि : पहिलोपटक सगरमाथा आरोहण गरेको अवसरमा आयोजित कार्यक्रमका क्रममा एक साथ देखिएका (बायाँबाट क्रमशः) एडमन्ड हिलारी, तत्कालीन सरकारी अधिकारी शिवप्रसाद रौनियार, तेन्जिङ नोर्गे शेर्पा र जोन हन्ट। तस्बिर सौजन्यः विकास रौनियार

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेको सगरमाथालाई तिब्बती भाषामा चोमोलुङ्गमा भनिन्छ। सगरमाथालाई सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेस्टको नाममा ‘माउन्ट एभरेस्ट’ नामकरण गरिएको थियो।

सगरमाथा आरोहणमा अनेक कीर्तिमान कायम भएका छन्। पहिलो महिला आरोही जापानी महिला जुनको तावेई हुन्। उनको ७७ वर्षको उमेर ९ वर्षअघि निधन भएको थियो।

सोलुखुम्बुका कामीरिता शेर्पाले केही दिनअघि ३१औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै कीर्तिमान तोडेका छन्।

जापानको फुकुसिमामा जन्मिएकी तावेईले सन् १९७५ मा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेकी थिइन्। उनले २० दिनमा सगरमाथाको सफल आरोहण गरेकी थिइन् र पहिलो पहिलो महिला सागरमाथा आरोही बनिन्।

सन् १९५६ (वि.सं. २०१२) मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम ‘सगरमाथा’ राखेका हुन्। उनले सगरमाथाको नेपाली नाम झ्यामोलोङ्मो पनि लेखेका छन्। कतिपयले ‘देवढुङ्गा’ पनि भन्ने गरेको पाइन्छ।

सगरमाथा चुचुरोमा ३१ औं पटक पुगे कामीरिता


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *