झारफुक गर्ने भन्दै बालिकालाई यौन दुर्व्यवहार
विराटनगर। बिरामी परेकी बालिकालाई झारफुक गरी निको बनाइदिने भन्दै यौन दुर्व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका–६ रामपुरस्थित एक घरमा दिदीसँगै भाडामा बस्ने १५ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको हो। सिरहा घर भएकी उनी तीन वर्षयता विराटनगरमा दिदीसँग बस्दै आएकी थिइन्।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार ती बालिका केही महिनादेखि डराउने, आत्तिने, बेहोस हुने जस्ता लक्षणबाट ग्रसित थिइन्। यो कुरो थाहा पाएका स्थानीय ३५ वर्षीय महमद साबिरले झारफुक गरेर निको बनाइदिने भनेका थिए।
फरक फरक दिन केही पटक उनले झारफुक गरेका थिए। बालिकाको समस्या नहटे पनि आफूले झारफुक नगरिदिएको भए ज्यानै जान सक्थ्यो भनेर उनले भनेका थिए।
राम्रोसँग झारफुक गरेर पूरै निको बनाउनका लागि ७० हजार रुपैयाँ चाहिने उनले बताएको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको डीएसपी जोशीले जानकारी दिए । त्यसअनुसार दिदीले रकम पनि दिएकी थिइन्।
त्यसपछि बालिकालाई उनले गत चैत १७ गते राति आफ्नो घरमा बोलाएका थिए। झारफुक र उपचारको बहानामा उनले त्यहीँ बालिकामाथि यौन दुर्व्यवहार गरेको पाइएको प्रहरीको भनाइ छ।
त्यसो गरेको कुरा कसैलाई नभन्नु भन्दै धम्क्याएको पीडित बालिकाको भनाइ छ। त्यसपछि ती पुरुष गाउँबाट भागेका थिए। बालिकाका तर्फबाट जेठ १३ गते घटनाबारे जानकारी दिंदै जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिइएको थियो।
प्रहरीले खोजीका क्रममा साबिरलाई विराटनगर–६ स्थित उनको घरबाट पक्राउ गरेको हो। उनीमाथि बाल यौन दुर्व्यवहार सम्बन्धी कसुरमा आज बुधबार मुद्दा दर्ता गराई ७ दिनको म्याद थपिएको छ। घटनाबारे थप अनुसन्धान अघि बढाइएको डीएसपी जोशीले बताए।
