गृहमन्त्रीको गल्ती छैन, विरोध गर्नेलाई स्पष्टीकरण सोध्नुपर्छ : कोइराला
काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गृहमन्त्री रमेश लेखकमाथि चरित्र हत्या गर्ने र लाञ्छना लगाउने काम भएको बताएका छन्। सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्।
बैठकमा गृहमन्त्रीको प्रष्टीकरणपछि उनको चरित्र हत्या गर्ने काम भएकोप्रति आफू स्पष्ट भएको कोइरालाले बताएका हुन्। गृहमन्त्रीले एक इन्च पनि गल्ती नगरेको र उनीमाथि लगाइएका सबै आरोप गलत भएको दाबी गर्दै मंगलबारको संसदमा गृहमन्त्रीले जवाफ दिने जानकारी दिए।
नेता कोइरालाले बैठकमा पार्टीका नेताविरुद्ध लाग्ने नेताहरूसँग स्पष्टीकरण सोध्न पार्टी सभापतिलाई आग्रह गरिएको बताए। गृहमन्त्रीविरुद्ध अभिव्यक्ति दिएको भन्दै कोइरालाले शेखर कोइराला, सुनिल शर्मा र राजेन्द्र बजगाईँसँग स्पष्टीकरण सोध्नुपर्ने पार्टी सभापतिलाई भनेको उल्लेख गरे।
