यस्तो थियो पुरानो विराटनगर

२००७ सालमा राणाशासन विरुद्धको सफल जनक्रान्तिको सूत्रपात गर्ने विराटनगर देशको औद्योगिक क्षेत्रका लागि पनि अगुवा हो। यहीँबाट सुरु भएको औद्योगिक थालनी अन्यत्र फैलँदै गएको हो। राजनीतिक परिवर्तन र आर्थिक विकासको जग बसाल्न विराटनगरको अग्रणी भूमिका रहँदै आएको छ।

सन् १९६७ ताका विराटनगरको सडकमा गोरुगाडा

यहीँका ६ जना मुलुकको प्रधानमन्त्री बनिसकेका छन् । पूर्वप्रधानमन्त्रीहरू बीपी कोइराला, मात्रिकाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, सूर्यबहादुर थापा, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाको राजनीति विराटनगरबाटै उठेको थियो।

सन् १९६७ मा विराटनगर विमानस्थलमा अवतरण भएको विमान

‘शिखरनाथ भाष्य’ को यात्रा वर्णनअनुसार वि. सं. १९७१ मा बडाहाकिम जीतबहादुर खत्रीले आधुनिक विराटनगरको जग बसाएका थिए। कर्णेल खत्रीले त्यसवेला ‘मौरङ’ सदरमुकाम रंगेलीमा रहेको गोश्वारा, माल, अमिन, वनजाँच, हुलाक, अडिटर, जेल र अस्पताल विराटनगर सारेका थिए।

‘विराटनगर’ नामकरण भने १९७६ सालमा शिकार खेल्न मोरङ आएका केशरशमशेर राणाले गरेका थिए। त्यसवेलासम्म विराटनगरलाई ‘गोग्राहा’ भनिन्थ्यो। महाभारतकालीन राजा विराटको नामबाट यो नगरको नामकरण भएको हो।

विराटनगर बजार क्षेत्रमा मिठाइ बेच्दै व्यापारी। (सन् १९६७)

विराट राजाको राजधानीको भग्नावशेष विराटनगर दक्षिणको भेडियारी गाउँमा छ। कौरवहरूले लुटेका विराट राजाका गाई पाण्डवहरूले फिर्ता ल्याएको किम्वदन्ती अनुसार पहिला यो ठाउँलाई गोग्राहा भनिन्थ्यो। पाण्डवहरूले विराट राजाकै दरबारमा गुप्तबासको एक वर्ष बिताएको विश्वास गरिन्छ।

तत्कालीन त्रिभुवन स्मारक अस्पताल, विराटनगर। (सन् १९७४)

विराटनगरमा कृष्णप्रसाद कोइरालाले भारतीय मारवाडीहरू बोलाएर व्यापारिक वातावरण बनाएका थिए। बस्ती विस्तार भएसँगै कृष्णप्रसाद कोइरालाको सक्रियतामा १९९६ सालमा नेपालकै दोस्रो शिक्षालयको रूपमा आदर्श विद्यालय स्थापना भयो। त्यसअघिसम्म राजधानीमा मात्र दरबार हाईस्कूल थियो।

विराटनगर मुख्य बजार क्षेत्र। (सन् १९७४)

२००९ सालमा त्रिभुवन स्मारक अस्पताल खुलेको विराटनगरमा त्यसलगत्तै रत्न राज्यलक्ष्मी मातृ सेवा सदन बन्यो। अग्रजहरुका अनुसार १९९५ सालसम्म विराटनगरमा आदर्श विद्यालय भवन मात्र पक्की संरचनाको थियो। मलेरिया नियन्त्रण भएपछि २०१९ सालतिरबाट विराटनगर क्षेत्रमा बस्न पूर्वी पहाडका मानिसहरूको ओइरो नै लागेको थियो।

विराटनगर मुख्य बजार क्षेत्रमा पान पसल। (सन् १९७७)

पछिल्लो समय भने विराटनगरको गौरवशाली इतिहासलाई बल पुग्ने गरी विकास हुन सकेको छैन। नयाँ अरु धेरै सहरहरु विकासित भइसक्दा पनि विराटनगर अपेक्षित रुपमा अघि बढ्न नसकेको चर्चा हुने गरेको छ।

तस्बिर सौजन्यः रवि शर्मा खनाल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *