गैरकानुनी रूपमा नेपालीलाई विदेश पठाए कारबाही हुने

काठमाडौं। गैरकानुनी रूपमा नेपालीलाई विदेश पठाउने गरेको गुनासो आएको भन्दै वैदेशिक रोजगार विभागले त्यसो गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ।

विज्ञप्ति जारी गर्दै विभागले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वा कुनै पनि नेपाली कामदारलाई श्रमिकका रूपमा विदेश पठाउन वैदेशिक रोजगार ऐन बमोजिम विभागमा दर्ता भएका संस्थाले मात्र अनुमति पाएको स्पष्ट पारेको छ।

विभागको यस्तो चेतावनी अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अख्तियारले छापा हान्दै अनुसन्धान सुरु गरेपछि आएको हो।

कतिपय व्यक्ति, शैक्षिक परामर्श केन्द्र, ट्राभल एजेन्सी, तालिम प्रदायक संस्था, भाषा प्रशिक्षण गराउने संस्था लगायतले नेपाली श्रमिकलाई विदेश पठाइदिने सूचना जारी गरेको, राहदानी र अन्य संस्थाले नेपाली श्रमिकलाई विदेश पठाइदिने सूचना जारी गरेको पाइएको विभागको भनाइ छ।

त्यस्तै राहदानी र अन्य कागजात संकलन गर्ने र नक्कली कागजात तयार गरी विदेश पठाउने काममा संलग्न भएको भन्दै विभागमा उजुरी र जनगुनासो समेत आएको विज्ञप्तिमा उल्लेख छ।

विभागले गैरकानुनी हिसाबमा वैदेशिक रोजगारीमा नपठाउन सचेत गराउँदै टोली खटाइ नियमित तथा आकस्मिक अनुगमन गर्ने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *