डेंगी संक्रमणको जोखिम यसपालि बढी, सतर्कता अपनाउन सुझाव
फाइल तस्बिर
काठमाडौं। यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेंगी संक्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेंगी संक्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
‘गत वर्षको तुलनामा हाल कम संक्रमण देखिएको छ। तर मौसम विभागले धेरै नै पानी पर्ने भनेको छ। त्यसले सङ्क्रमणको जोखिम बढाउनेछ,’ महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले भने। पानी धेरै पर्दा जम्मा हुने पानीमा डेंगी सार्ने लामखुट्टे फस्टाउने भन्दै उनले सतर्कता अपनाउन सबैलाई आग्रह गरे । पानी संकलन हुने टायर, गमलाजस्ता ठाउँ हालैदेखि व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए।
उनका अनुसार पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुल निस्किने लार्भा वयस्क भएपछि त्यसले टोकेमा डेंगी लाग्ने गरेको छ।
शाखा प्रमुख डा दाहालले पुस १७ देखि हालसम्म ७१ जिल्लामा एक हजार ८१ जनामा सङ्क्रमण देखिएको र पाँच जनाभन्दा बढी सङ्क्रमण भएका ३० स्थानीय तहमा सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिएको जानकारी दिए। सन् २०२४ मा डेंगी संक्रमण ७६ जिल्लामा फैलिएको थियो भने १५ जनाको मृत्यु र ४१ हजार ८६५ जना संक्रमित भएका थिए। (रासस)
