विश्व पौडेल बने राष्ट्र बैंकको १८औं गभर्नर
काठमाडौं। अर्थशास्त्रमा विद्यावारिधि गरेका विश्व पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नर बनेका छन्। उनलाई सरकारले आज गभर्नरमा नियुक्त गरेको हो।
मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
उपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको थियो। मंगलबार बसेको सिफारिस समितिको बैठकले विश्व पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो।
त्यही सिफारिसअनुसार मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो। निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै चैत २५ गतेदेखि राष्ट्र बैंकमा गर्भनर पद खाली थियो। त्यसयता अर्थ मन्त्रालयले कामु गभर्नरको जिम्मा डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई दिएको थियो।
अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्। चितवनको रत्ननगर, टाँडीका पौडेल नेपाली कांग्रेसको ‘कोटा’ बाट गभर्नर बनेका हुन्।
