युएईलाई हराउँदै नेपाल विश्वकपको ग्लोबल छनोटमा
-क्यान
काठमाडौं। नेपाल पहिलोपटक आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्न सफल भएको छ। एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीको आफ्नो पहिलो खेलमा आज सोमबार यूएईलाई ५ विकेटले हराउँदै नेपाल एक खेल अगावै ग्लोबल छनोटमा पुगेको हो।
यससँगै नेपाल र थाइल्यान्ड एसिया छनोटबाट ग्लोबल छनोटमा पुगेका छन् । सुपर थ्रीमा नेपालले भोलि थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
१ सय १५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर जित हासिल गर्यो। ओपनर राजमती ८ रन जोडेर रनआउट भइन्। अर्की ओपनर सम्झना खड्काले २७ बलमा ३ चौकासहित २१ रनको योगदान दिइन्। कविताले ५ रन मात्र बनाउन सकिन्।
चौथो विकेटका लागि कप्तान इन्दु बर्मा र उपकप्तान पूजा महतोले २४ रनको साझेदारी गरे। पूजा १३ रन जोडेर स्टम्पिङ भइन्।
रुविना क्षेत्री र इन्दुले पाँचौं विकेटका लागि ३७ रनको साझेदारी गरे। रुविनाले १८ बलमा २३ रनको योगदान दिइन्। इन्दुले अविजित ३० रनको इनिङ्स खेलिन्। रुवि पोदार ६ रनमा नटआउट रहिन्।
यूएईका लागि सुरक्षा कोटी, वैष्णवी महेश, मिशेल बोथा र ईशा ओजाले समान १–१ विकेट लिए।
