विभागले ‘डर देखाउन खोजेको’ भन्दै निजी विद्यालयहरुको आपत्ति
काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निजी विद्यालयहरूमा गरेको अनुगमनप्रति सम्बद्ध संगठनहरुले आपत्ति जनाएका छन्।
विभागले विभिन्न निजी विद्यालयहरूमा अनुगमन गर्दै आएको छ। निजी विद्यालयहरूले उक्त अनुगमनलाई ‘डर देखाउन खोजेको’ भन्दै आपत्ति जनाएका हुन्। निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) र राष्ट्रिय प्याब्सन (एनप्याब्सन) ले अनुगमनप्रति आपत्ति जनाएका हुन्।
गुणस्तरीय शिक्षामा निरन्तर लागि परिरहेका निजी विद्यालयहरूमा राज्य संयन्त्रबाट अनुगमनको नाममा डर देखाउने, मानसिक दबाब सिर्जना गर्ने र विद्यालयहरूको शैक्षिक स्वतन्त्रतालाई ह्रास गर्ने कार्य गरिरहेको उनीहरुको भनाइ छ।
शैक्षिक शुल्क निर्धारण, शैक्षिक गुणस्तर, व्यापार कारोबार जस्ता बहानामा विभागले अनावश्यक हस्तक्षेप गरिरहेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको उनीहरुले ध्यानाकर्षण गराएका छन्।
प्याब्सन अध्यक्ष कृष्ण अधिकारी, सहअध्यक्ष गोपाल आचार्य र एनप्याब्सनका अध्यक्ष सुभाषचन्द्र न्यौपाने नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका हुन्।
मन्त्री भण्डारीले शिक्षालाई व्यवसायको दृष्टिले नभई सेवाको दृष्टिकोणबाट बुझिने गरी अनुगमन रोक्न विभागलाई तत्काल निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेको ती संस्थाका प्रतिनिधिले जनाएका छन्।
