टिकटक लाइभ गरिरहेका बेला गोली हानी हत्या

काठमाडौं । मेक्सिकोमा एक जना ब्युटी इन्फ्लुएन्सरको हत्या गरिएको छ। टिकटकमा लाइभ स्ट्रिमिङ गरिरहेका बेलामा उनको गोली हानेर हत्या भएको त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन्।

मध्य मेक्सिकोको जलिस्को राज्यको एक ब्युटी सैलुनमा टिकटक लाइभस्ट्रिम गर्ने क्रममा यो घटना भएको प्रहरीले जनाएको छ।

२३ वर्षीया भलेरिया मार्केज मङ्गलवार आफ्नो लाइभस्ट्रिममा क्यामेरा पछाडि डेलिभरी म्यानसँग कुरा गरिरहेकी थिइन् । यति नै बेला उनको छातीमा र टाउकोमा गोली लागेको थियो । यसपछि उनी लडिन् र तुरुन्तै उनको मृत्यु भयो ।

घटना हुँदा उनी राज्यको ग्वादलहारुको बाहिरी भागमा रहेको जैपोपन नगरपालिकाको एक ब्युटी सैलुन भित्र थिइन्। यसको केही घण्टापछि, मेक्सिकन पीआरआई पार्टीका पूर्व कांग्रेसी लुइस अर्मान्डो कोर्डाेभा डियाजलाई सोही क्षेत्रको एक क्याफेमा गोली हानी हत्या गरिएको थियो।

राज्य अधिकारीहरूले मार्केजको मृत्युलाई महिलाको हत्याको रूपमा अनुसन्धान गरिरहेको बताएका छन्। मेक्सिकोमा लिङ्गमा आधारित हिंसाका घटना निकै भेटिन्छन्। हरेक दिन पार्टनर वा परिवारका सदस्यबाट १० महिलाको हत्या हुने गरेको युएनको एक प्रतिवेदनले देखाएको छ।

अहिले मेक्सिकोमा अशान्त अवस्था छ । त्यहाँ प्रतिद्वन्द्वी कार्टेल मेक्सिकोको धेरैजसो भागमा क्षेत्रीय नियन्त्रणको लागि रक्तपातपूर्ण युद्धहरू लडिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *