कांग्रेस नेता, पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। उनीसहित १६ जना व्यक्ति र दुई वटा कम्पनीविरुद्ध विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार मुद्दा दायर गरेको हो।

नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘टेरामक्स’ प्रविधिका उपकरण खरिद घोटालामा कांग्रेस सांसद बस्नेत र पूर्वकानून सचिव धनराज ज्ञवालीसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो।

दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाल, प्राधिकरणकै तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती, प्राधिकरणका निर्देशक विजयकुमार राय, सुरेन्द्रलाल हाडा र दिपेश आचार्य, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हरिण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र र सन्जीव अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उनका अनुसार परामर्शदाता भ्यानराइज सोलुसन्स (एसएएल अफसोर) र उक्त कम्पनीका सीईओ जमाल अनौती, स्थानीय एजेन्ट कनेक्सन ट्रेड लिंक प्राइभेट लिमिटेड र सोका अध्यक्ष दिलिपकुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेलविरुद्ध पनि राज्यको सम्पत्तिको दुरुपयोग गरी हानी नोक्सानी पुर्याएकोमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियारले सबैसँग जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरेको छ। उक्त प्रकरणमा मुछिएका सांसदद्वय कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका गोकुल बाँस्कोटा तथा पूर्व मुख्यसचिव वैकुण्ठ अर्याललगायतलाई भने अख्तियारले मुद्दा लगाउन नपर्ने निष्कर्ष निकालेको छ।

सांसद पद निलम्बन

यसैबीच, आयोगले बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेत सांसदबाट निलम्बित भएका हुन्।

भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएपछि सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ। बस्नेत २०७९ मा भएको निर्वाचनमा सिन्धुपाल्चोक–२ का प्रत्यक्ष निर्वाचित सांसद हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *