‘भाइलाई खबर गरिदिनू’ भन्दै कोशीमा हाम फालेर बेपत्ता
विराटनगर। धनकुटाका एक व्यक्ति सप्तकोशी नदीमा हाम फालेर बेपत्ता भएका छन्। धनकुटा नगरपापिलका–२ का ५३ वर्षीय ध्रुव थापा कोशीमा हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोशी नदीको पुलबाट बुधबार दिउँसो उनले हामफालेका हुन्। थापा को ३४ प ३९२८ नम्बरको मोटरसाइकलमा पुलसम्म पुगेका थिए। त्यसपछि मोटरसाइकल पुलमा छाडेर उनले नदीमा हाम फालेको सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए।
उदयपुर र सुनसरी जोड्ने कोशी नदीको पुलबाट उनले हाम फालेको वरपरबाट देखेका स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यहाँ एउटा झोला भेटियो। झोलामा रहेका कागजातबाट थापाको पहिचान खुलेको प्रहरीले जनाएको छ। गोताखोर सहितको प्रहरी टोली र स्थानीय मिलेर उनको खोजी भइरहेको जनाइएको छ।
झोलामा भेटिएको एउटा कागजमा ‘म ध्रुव थापा, मेरो भाइ गजेन्द्रलाई खबर गरिदिनु होला’ भन्ने लेखिएको पाइएको छ। उनले त्यस्तो गर्नुको कारण खुलेको छैन। थापाको खोजीसँगै अनुसन्धान पनि अघि बढाइएको डीएसपी खतिवडाले बताए।
