बिहे घरमा करेन्ट लागेर २ जना महिलाको मृत्यु
विराटनगर। वैवाहिक कार्यक्रम भइरहेको घरमा करेन्ट लागेर दुई जना महिलाको मृत्यु भएको छ। एक जना घाइते भएकी छन्।
मोरङको रतुवामाई नगरपालिका–३ मिर्चाडाँगी टोलकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सूर्यदेवी गनगाईंको मृत्यु भएको हो। स्थानीय मंगललाल सिंहका छोरा निरजकुमार विवाहमा नाचगान गरिरहेका बेला उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।
करेन्ट लागेर गम्भीर घाइते उनीहरुलाई रंगेली अस्पताल लगिएको थियो। अस्पतालमा पुर्याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए। करेन्ट लागेर ३० वर्षीया राधाकुमारी सिंह सामान्य घाइते भएकी छन्। उनी नगर अस्पताल झुर्कियामा उपचारपछि घर फर्किएकी छन्।
प्रहरीका अनुसार विवाह घरमाथि हरियो बाँस गाडेर माइक बाँधिएको थियो । राति करिब ८ बजे आएको हावाहुरीले बाँस ढलेर ‘हाइटेन्सन लाइन’ मा ठोक्किएको थियो।
त्यसैबाट करेन्ट प्रवाह भइ बिहे घरमा रहेका तीन जना महिलालाई करेन्ट लागेको थियो। तीमध्ये दुई जनाको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।
