‘तिमीले आकाश चुमायौ, मैले धर्ती भिजाएँ’
विराटनगर। साहित्य लेखनमा सक्रिय विष्णु काफ्लेले आफ्नो नयाँ गीत स्रोता-दर्शकमाझ ल्याएका छन्। कथा, आख्यान, संस्मरण र कविता लेख्दै आएका उनले यसपटक गीत ल्याएका हुन्।
विष्णुको शब्दमा ‘तिमीले बादल बनेर’ बोलको गीतलाई डेनी निरौलाले संगीत दिएका छन्। गीतमा डेनी स्वयं र सिर्जना गुरागाईंको स्वर छ।
गीतको ‘एरेन्ज’ बलराम समालले गरेका छन् भने रेकिर्डिङ र मिक्सिङको काम बालन्दा राईले गरेका छन्।
झुमा कट्टेल काफ्ले प्रोड्युसरका रुपमा रहेको गीतको ‘लिरिकल भिडियो’ सुशील भट्टराईले मा काम गरेका छन्।
उक्त गीत काफ्लेकै ‘विष्णुप्रसाद काफ्ले’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
युगल जोडीको यो प्रेमिल गीतमा एकअर्काप्रति समर्पण र कृतज्ञता प्रकट गरिएको छ।
यस्तो छ, गीत–
तिमीले बादल बनेर
मलाई पानी बनायौ
तिमीले आकाश चुमायौ
मैले धर्ती भिजाएँ
तिमीले ओठ खुलायौ
मैले माया बोलाएँ
तिमीले मुस्कान दियौ
मैले प्रीत पिलाएँ
तिमीले सागर बनायौ
मैले किनारा मिलाएँ
तिमीले सपना देखायौ
म सुस्तरी निदाएँ
तिमीले कहाँ पुर्यायौ
म हराइरहेँ
तिमीले स्पर्श दियौ
मैले मुस्काइ दिएँ
तिमीले छाती खुलायौ
मैले स्वीकारी दिएँ
तिमीले बादल बनेर…।
गीत सार्वजनिक भएपछि धेरै स्रोताले उत्साहजनक प्रतिक्रिया दिएको सर्जक काफ्लेले बताए। मन छुने शब्द, सुमधुर संगीत र उस्तै कर्णप्रिय स्वरमा सजिएको गीतले आफूहरू रोमाञ्चित बनेको स्रोतहरुले काफ्लेको युट्युब च्यानलमा प्रतिक्रिया दिएका छन्।
यो गीतको प्रस्तुतिमा ‘लिरिकल भिडियो’ भन्दा पनि कलाकारको अभिनयसाथ म्युजिक भिडियो बन्न सके अझ उत्कृष्ट हुने प्रतिक्रिया पनि कतिपय स्रोताको छ।
यसअघि काफ्लेको ‘बलेँसीको धारा भएँ’ बोलको गीत सार्वजनिक भएको छ। यो गीतमा सुनिता तामाङको संगीतमा उनकै स्वर छ।
