कोरियाबाट आएको विमान ४५ मिनट काठमाडौंको आकाशमा घुमेर दिल्लीतिर

विराटनगर । कोरियाको इन्चेअनबाट स्थानीय समयअनुसार दिउँसो २ बजे काठमाडौंका लागि उडेको कोरियन एयरलाइन्सको उडान काठमाडौंमा अवतरण गर्न नसकी दिल्लीमा अवतरण गराइएको छ।

कोरियन एयरलाइन्सको जीप्लस केइ ६९५ जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा स्थानीय समयअनुसार साँझ ७ः४० बजे अवतरण गराइएको हो।

क्यानाडाबाट कोरिया हुँदै नेपाल आउने क्रममा रहेका उक्त विमानका यात्रु विराटनगरका मनोज पोखरेलका अनुसार काठमाडौंको आकासमा ‘हेभी थन्डरस्टर्म’ का कारण अवतरण गर्न नसकेर दिल्ली डाइभर्ट गर्नुपरेको जानकारी दिइएको छ।

उक्त जहाज काठमाडौंमा आज ५ः३० बजे अवतरण गर्ने समय तालिका थियो। मौसम प्रतिकूल भएका कारण डाइभर्ट गर्नुपरेको पाइलटले घोषणा गरेको पोखरेलले जानकारी दिए।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न १० मिनेट बाँकी रहँदा करिब ४५ मिनेट काठमाडौंको आकाशमा धेरैपटक घुमाइएको उनले बताए । त्यही अवस्थामा पाइलटले एकपटक विमानलाई अवतरण गराउने प्रयास गरेको तर सम्भव नभएको जनाइएको थियो।

त्यस क्रममा जहाज धेरै हल्लिएपछि यात्रुहरु कहालिएका थिए। पोखरेलका अनुसार दिल्लीमा अवतरण भएको जहाजभित्रै सबै यात्रु बसिरहेका छन्। आज उडान हुने, नहुने, कति बेला हुने भन्ने जानकारी पाउन नसकेको उनले बताए।


प्रतिक्रिया

One thought on “कोरियाबाट आएको विमान ४५ मिनट काठमाडौंको आकाशमा घुमेर दिल्लीतिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *