हजार दु:खको एउटै दबाई : आमा

मेरी आमा बाँचिरहनु भएको भए अहिले एक सय दस वर्षकी हुनुहुने थियो। तर उहाँ वि. सं. २०४४ सालमै ७८ बर्षको उमेरमा हामी सबैलाई छोडेर जानुभयो। आजको दिनले मलाई आमाको स्मरण गराएर बाल्यकालतिर पुर्‍यायो।

त्यसो त म डेढ वर्षको हुँदा मावलकी हजुरआमा सिकिस्त बिरामी भएर मुख हेर्न आउनु भन्ने खबर आएछ र आमाले मलाई घर नामसालिङ, इलाममा बासँगै छोडेर मावल इलामकै पुङफुङ जानुभएको थियो रे। ६ दिनपछि आमा घर फर्केर आउँदा म आमासँग गइनँ रे। आमाको दूध खाइनँ रे। बासँगै सुतें रे। बा बेंसी गोठमा बस्दा बासँगै बस्थें रे। चार/पाँच वर्षपछि अर्थात् स्कुल जाने भएपछि मात्र आमासँग बस्न थालेको हुँ रे म।

‘आमा भुँडी दुख्यो।’

बेला बेलामा मेरो पेट दुख्थ्यो र म आमालाई भन्थें।

आमा आछमे बटुका (कचौरा) मा तुरुक्क पानी हालेर हँसियाको टुप्पो त्यो कचौराको पानीमा डुबाउनु हुन्थ्यो। अनि एकछिन हल्लाउनु हुन्थ्यो र कचौरा मलाई दिँदै भन्नुहुन्थ्यो, “‘तँलाई शिकारी लागेछ। यो स्वाट्टै पारेर एकै तालमा खा र बटुको घोप्ट्याएर तीन चोटि त्यसको पिँधमा औंलाले प्याट प्याट हान्। जाती हुन्छ।’ म त्यसै गर्थें। नभन्दै एकछिनमा जाती पनि हुन्थ्यो।

कहिलेकाहीँ मेरो नाकको टुप्पोमा घाउ हुन्थ्यो। नाकमा अलिक असजिलो अप्ठ्यारो के हुन्थ्यो कुन्नि म नाक कोट्याइरहँदो रहेंछु। आमाले जब मैले नाक कोट्याएको देख्नुहुन्थ्यो अनि भन्नुहुन्थ्यो,’ए नाक नकोट्या, दिशा गर्दा नाक कोट्याएछ, अनि घाउ भयो। अब भोलि बिहान दिशा गरेको बेलामा नाक नछोइकन चोर औंलो नाकको छेउमा लगेर ‘छुँछु’ भन्नू तर नछुनु, जाती हुन्छ।’

त्यसै गर्थें। जाती हुन्थ्यो।

कहिलेकाहीँ ओठमा घाउ हुन्थ्यो। आमाले देखेपछि ‘कस्को जुठो खाइस्? जुठो उछ्रेछ’ भन्नुहुन्थ्यो। ‘भरे बेलुका भात खाइसकेपछि त्यही जुठो थालमा चुल्हाको तातो भुत्भुते (खरानी) हालीमाग्नु अनि त्यसमा तुरुक्क पानी हाल्नु। त्यसमा बाफ आउँछ। त्यो बाफमा एकछिन ओठ सेकाउनु। जाती हुन्छ’ भन्नुहुन्थ्यो। म आमाले भने बमोजिम गर्थें। जाती हुन्थ्यो।

साउने संक्रान्तिको दिन बडा रमाइलो हुन्थ्यो। साँझ परेपछि अगुल्टो फ्याँकेर घरको धुरी कटायो भने लुतो आउँदैन भनेर आमाले भने बमोजिम अगुल्टो फ्याँकेर धुरी कटाइन्थ्यो। गाउँभरि लुतो हुँदा पनि हाम्रोमा खोइ कहिल्यै लुतो आएको थाहा भएन। पिलो भने बरु आइरहन्थ्यो।

प्रायः खोइ बर्खातिर हो कि, आउँ भने पर्थ्यो। हामी रगतमासी पर्‍यो भन्थ्यौं। आमाले भकिमिलो राखेको हुन्थ्यो सायद। भकिमिलोमा मह मिसाएर मोलेर खान दिनु हुन्थ्यो। दुई खुराक जति खाँदा आउँ जाती हुन्थ्यो।

कहिलेकाहीँ खान पटक्कै रुचि हुँदैनथ्यो। नखाएको आमाले बिचार गर्नु हुन्थ्यो होला। दुई/तीन दिनपछि “तँलाई नास परेछ। ला यो खा” भनेर बिख्माको सानो टुक्रा खान दिनु हुन्थ्यो। त्यो असाध्यै तितो हुन्थ्यो। तै पनि खानैपर्थ्यो। खाइन्थ्यो। नभन्दै भोलिपल्टदेखि भात लफन्ड्याउन थाली हालिन्थ्यो।

बारीमा घाँस काट्दा कहिलेकाहिँ हातको औंलामा काटिन्थ्यो। कहिलेकाहिँ खन्दा कोदालाले खुट्टा काटिन्थ्यो। त्यसपछि आफ्नो काम भनेको रुँदै आमासँग जानु हुन्थ्यो। आमाले बारीको छेउबाट ठाडो उन्युँको पात सोहोरेर तान्नुहुन्थ्यो र त्यसलाई हत्केलामा एकछिन माँडेर काटे ठाउँमा त्यसको थोपा चुहाइदिनु हुन्थ्यो। रगत ता एकछिनमा थामिन्थ्यो नै। चार/पाँच दिनमा घाउ पनि बिसेक हुन्थ्यो।

आमाको मुखमा मासु कहिल्यै परेन। उहाँ मासु खानु हुन्नथ्यो। अरुले पनि मासु नखाए हुन्थ्यो भन्ने चाहनुहुन्थ्यो। भएपनि खानेलाई घृणा गर्नुहुन्नथ्यो। बरु सहयोग नै गर्नुहुन्थ्यो। गाउँमा खसी काटेर भाग लगाएर बेच्ने चलन थियो। आमाले कमसेकम एक बिसौली (आधा धार्नी) मासु ल्याउन अह्राउनु हुन्थ्यो र आफू नखाए पनि अगेनामा पकाइदिनु हुन्थ्यो। हामी खान्थ्यौं।

आमामा अनेक सीप विद्यमान थियो। सुरुवाल टालेको एउटा घटना सम्झन्छु। दौरा सुरुवाल सिलायो। दौरा सद्दे हुन्छ, सुरुवालको घुँडा फाटिहाल्थ्यो। आमाले दौराको भित्री फेर काटेर त्यो टुक्राले सुरुवालको घुँडा टालिदिनु हुन्थ्यो। घर बस्दा वा घर बारीको काम गर्दा हामी त्यही दौरा सुरुवाल लगाउँथ्यौं।

आमाले पढ्नु भएको थिएन। तर आमा हामीलाई पढ्न प्रेरित गर्नुहुन्थ्यो। गाउँका समवयी सबै बिहान बेलुका पढ्न हाम्रै घरमा आउँथे। को पढ्दै छ छैन आमा खुब याद गर्नुहुन्थ्यो। परीक्षापछि फेल हुनेलाई फस्ट वा राम्ररी पास हुनेको नाम इंगित गर्दै “तँ चैं अब उसको गु खा” भन्दिनु हुन्थ्यो। त्यही भएर पनि सबै ध्यान दिएर पढ्ने गरिन्थ्यो। आमा हामीलाई “मैले तेर किलास” पढेको छु भन्नुहुन्थ्यो। मलाई आफू पनि आमा जस्तै धेरै पढेर सबै थोक जान्ने इच्छा जागृत हुन्थ्यो।

यी त केही प्रतिनिधि घटना मात्र हुन् आमासँगका मेरा बाल्यकालका।

सबभन्दा रमाइलो त के छ भने आमाले हामीलाई आशिष दिँदा जहिले पनि धेरै पढ्नु, ज्ञानी हुनु, मास्टर हुनु, ठूलो मान्छे हुनु भन्नुहुन्थ्यो। नभन्दै हामी सबै छोराहरु पढेर सबैभन्दा पहिले मास्टर नै भएका थियौं।

त्यसो त हरेक बिहान स्नानादि कर्मपछि म सम्पुर्ण पितृहरुलाई जलाञ्जली अर्पण गर्दछु। तर आज आमाको मुख हेर्ने दिन भएकाले आमाको स्मृतिमा आमालाई यही अश्रुपूर्ण शब्दश्रद्धान्जली अर्पण गर्दछु।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *