छिटो सक्ने गरी शिक्षा विधेयकमा छलफल हुँदै
फाइल तस्बिर
काठमाडौं। संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले सोमबारदेखि विद्यालय शिक्षा विधेयकमा थप छलफल गर्ने भएको छ। बिहान साढे ८ बजेदेखि उक्त विधेयकमा छलफल गरिने भएको हो।
शिक्षा समिति सचिव दशरथ धमलाले विधेयकमाथिको छलफल चाँडो सक्नेगरी बिहानै बैठक बोलाइएको बताए। अहिलेसम्म एक सय वटा दफामा छलफल भइरहेको छ। तीमध्ये ८० दफामा प्रारम्भिक चरणको सहमति जुटेको जनाइएको छ।
शिक्षक दरबन्दी मिलान तथा हस्तान्तरणको व्यवस्था गरिएको विधेयकको दफा ४३ मा केही दिनयता छलफल जारी छ। उक्त दफामा ९ वटा उपदफा छन्। चैत १८ गतेदेखि उपसमितिमा विधेयकबारे छलफल हुदै आएको छ।
सरकारले वैशाख १२ गतेका लागि संसद्को अधिवेशन आह्वान गरेको छ। उक्त अधिवेशनमा विधेयक पेश गर्नेगरी उपसमितिले काम गर्दै आएको छ। उपसमितिले पास गरेको विधेयकमा शिक्षा समितिमा पेश हुनेछ।
शिक्षा समितिले समेत आवश्यकता अनुसार थप छलफल गरी परिमार्जनसहित संसदमा पेश गर्नेछ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक तथा विद्यालय कर्मचारीहरु १९ दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन्। सरकारले पटक पटक वार्तामा बोलाए पनि ऐन जारी गर्ने स्पष्ट नपारेसम्म साथै विगतमा गरिएका सम्झौता कार्यान्वयन नगरेसम्म वार्तामा नबस्ने अडान शिक्षकहरुको छ।
नेपाल शिक्षक महासंघको अगुवाइमा लामो समयदेखि शिक्षक–कर्मचारी आन्दोलनरत् छन्। चैत २० गतेदेखि उनीहरुले आन्दोलनलाई काठमाडौं केन्द्रित बनाएका हुन्। देशभरबाट भेला भएका शिक्षक–कर्मचारीले दिनहुँ प्रदर्शन गर्दै आएका छन्।
