विद्युतीय गाडी दुर्घटना हुँदा ७ जना घाइते
विराटनगर । भोजपुरबाट धरान आउँदै गरेको विद्युतीय हायस गाडी धनकुटाको पाख्रीबासमा आइतबार साँझ दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। पाख्रीबास नगरपालिका–५ देवीथान भन्ने स्थानमा प्रदेश १–०२–००१ ज ४६२९ नम्बरको हायस अनियन्त्रित भइ दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार गाडी सडकबाट करिब २० मिटर तल खसेको छ। घाइतेमध्ये ३ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार गरिएको छ। बाँकी ४ जनालाई उपचारका लागि धरान पठाइएको प्रवक्ता खनाल बताए। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घाइते हुनेमा झापाको बिर्तामोड नगरपालिका–७ का ८५ वर्षीय कृष्णबहादुर राई, भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ की ६५ वर्षीया वीरमाया तामाङ, ३६ वर्षीय किशोर राई, संखुवासभाको चैनपुरका २७ वर्षीय रमेश कार्की, भोजपुरकै प्रवीणकुमार सुवाल, टेम्केमैयुङ–७ की २९ वर्षीया बेगना चेम्जोङ, ३६ वर्षीय तपीराज राई रहेको प्रहरीले जनाएको छ।
