राप्रपाले निषेधित क्षेत्र तोड्ने, सरकारले भन्यो : ‘अराजकता फैलाए कारबाही’

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार काठमाडौंमा प्रदर्शन गर्दैछ। उक्त पार्टीले प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्ने जनाएको छ। बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दै सामूहिक गिरफ्तारी दिने तयारी दिइने समेत उल्लेख गरेको थियो।

प्रदर्शनका लागि राजावादीहरूलाई पार्टीले बिजुलीबजारमा भेला हुन अनुरोध गरेको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठले आइतबार मध्याह्न १२ बजे बिजुलीबजार पुलमा भेला भएर अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा शान्तिपूर्ण प्रदर्शन गर्ने बताए। बिजुली बजारमा प्रदर्शनकारीको नेतृत्व अध्यक्ष लिङ्देनले नै गर्ने तयारी छ ।

यसैबीच, गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै राप्रपाको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२/०१/०७ गतेका दिन प्रचलित कानुन बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरू प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने ब्यहोरा सूचित गरिन्छ। साथै, समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, ध्रुबबहादुर प्रधान, बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीले निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन्। प्रदर्शन गरिने भनिएको अघिल्लो दिन भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *